सेयर बजारमा २७ अंकको गिरावट, ३ अर्बको कारोबार



काठमाडौँ । आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७.२१ अंकले घटेर बन्द भएको छ । कारोबार अवधिदेखि नै घट्न सुरु गरेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.३१ प्रतिशत घटेर बन्द भएको हो । यससँगै २०६० अंकबाट सुरु परिसूचक २०३४ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज २१ वटा कम्पनीको सेयर मूल्य मात्रै बढेका छन् । यसबाहेक २२५ वटा कम्पनीको सेयर मूल्य घट्दा २ कम्पनीको मूल्य भने स्थिर कायम छ । परिसूचक दोहोरो अंकले घटेको दिन आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।


परिसूचक घटे पनि आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतले बढेसँगै ९३१ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १० हजार २४२ रुपैयाँ पुगेको छ । यसपछि, सामाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा समेत १० प्रतिशतको वृद्धि आएको छ । आज सामलिङ पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ८.२१ प्रतिशतले घटेको छ ।