विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ



विराटनगर । विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने वस्तुसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१३ बाट सोमबार बिहान ७ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर रहेका छन् ।


मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ ।

प्रदेश १–००१ ह १७८३ नम्बरको सीटी सफारीमा सवार रहेका बेला तीनैजनालाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट १४.४४ ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु बरामद भएको जानकारी दाहालले दिए । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रहरीका अनुसार तीनैजना ब्राउन सुगरको कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारतको जोगवनीबाट ब्राउन सुगर भित्राएर नेपालका विभिन्न स्थानमा पु¥याउँदै बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।