रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई मिडिया मटरियलभन्दापनि ल मेकर बन्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले यसअघि थापाले विभिन्न काण्डको विषय उठाएर आफूलक्षित टिप्पणी गरेपछि यस्तो सुझाव दिएका हुन् ।

उनले गगनले उठाएका सबै प्रकरणमा छानबिन गर्न कसले र केले रोकेको भन्दै प्रश्न पनि गरे ।


उनले भने– ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’

उनले सरकारी जग्गा किर्ते गर्नेहरुपनि कांग्रेसमा रहेको भन्दै उनीहरुलाई कारबाही गरेर देखाउन गगनलाई चूनौति दिए ।

उनले भने– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ?  लामो समय सरकारमै भएजस्तो लाग्छ । राजनीतिमा सरकारमा वर्षौँ हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’

कांग्रेसबाट सरकारमा सहभागी बहालववाला मन्त्री र पूर्वमन्त्रीलाई अधिकारसम्म आयोग (अख्तियार) ले बयानमा बोलाउँदापनि नगएको भन्दै उनीहरुलाई आयोगसमक्ष बयानको लागि जान साधन नभएको भए आफूहरुले व्यवस्था गरिदिने पनि उनले व्यंग्य कसे ।