छाडा चौपायाबाट बाली जोगाउन सकस



कैलाली । धनगढी आसपासका क्षेत्रमा छाडा पशुचौपायाका कारण खेतमा लगाइएको बालीनाली जोगाउन किसानलाई सास्ती हुन थालेको छ ।

छाडा पशुचौपायाको व्यवस्थापन हुन नसक्दा किसानले हैरानी खेप्नु परेको धनगढी उपमहानगरपालिका–२ का टेकराज जोराले दुःखेसो पाखे । रातको समयमा छाडा पशु आएर खेतमा लगाइएको अन्नबाली, तरकारी खाएर सखाप पारिदिने गरेको उनले बताए । गतवर्ष पनि छाडा चौपायाले आफूले लगाएको खाद्यान्न बाली र तरकारी खाएर ठूलो नोक्सानी ब्योहोर्नु परेको किसान जोराको भनाइ छ ।


छाडा चौपायाले करिब एक बिघा जमिनमा लगाइएको गहुँ बालीमा नोक्सान पु¥याएको धनगढीका किसान तेजुराज चौधरीले बताए । “छाडा गाईगोरु दिनभर बजार क्षेत्रमा डुलेर हैरानी गर्छन् । रात परेपछि खेतबारीमा लगाएको खाद्यान्न बाली नोक्सान गर्दछन”, उनले भने।

उपमहानगरले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नं ७ स्थित देवहरियामा गौशाला निर्माण गरेको छ । धनगढी– ३ चटकपुरमा केही वर्षदेखि गौ संरक्षण सेवा समितिमार्फत गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै अन्य स्थानमा पनि गौशाला बन्ने क्रममा छन । कतिपय स्थानमा काञ्जिहाउस समेत निर्माण गरिएका छन् । दूध दिउञ्जेलसम्म गाई पाल्ने र दूध दिन छाडेपछि छाडारुपमा छाड्ने प्रवृतिका कारण छाडा पशुको व्यवस्थापनमा कठिनाइ थपिएको स्थानीय अगुवाको भनाइ छ ।

धनगढीसँग पश्चिम सिमाना जोडिएको छिमेकी जिल्ला कञ्चनपुर, गोदावरी नगरपालिका र खुला भारतीय सिमानाका कारण चौपाया छाडा पशु भित्रिने क्रम नरोकिएकाले व्यवस्थापनमा चुनौती थपिएको गौ–संरक्षण सेवा समितिका उपाध्यक्ष चेतराज अवस्थीले बताए । उनका अनुसार धनगढीको देउरियामा निर्माण गरिएको गौशालामा सयौँ छाडा पशु रहेका छन् ।

छाडा चौपायाको व्यवस्थापनका लागि यहाँको स्थानीय तहबाट केही प्रयास भए पनि समस्या समाधान हुन नसकेको अवस्थीले बताए । छाडा पशुको व्यवस्थापन गर्न स्थानीय तहका साथै सरोकारवाला निकायले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।