इलाम-२ उपनिर्वाचन: रास्वपाबाट रमेश प्रसाईंको चर्चा



काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेको प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचन मिति तय गरेसँगै दलहरुको चुनावी सरगर्मी बढेको छ ।

गएको प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट निर्वाचित सांसद संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनपछि आयोगले आगामी वर्षको वैशाख १५ गते निर्वाचन गर्न मिति तय गरेको छ ।


चुनावी सरगर्मी बढ्दै जाँदा टिकटका आकांक्षी हरुले लबिङ तीव्र पारेका छन् । आगमी उपनिर्वाचनमा संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार बन्ने नामको सूचीमा रमेश प्रसाई पनि परेका छन् । रास्वपाको सह-प्रवक्ताको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य प्रसाईलाई युवाको प्रतिनिधित्व गर्न सक्ने र उचाँई भएको नेताको रुपमा रास्वपाले उम्मेदवार बनाउने मनस्थिति बनाएको हो ।

रास्वपाले सोमबारमात्रै इलामको अवस्था बुझ्न सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरेको थियो । बुर्लाकोटीले इलाम पुगेर फर्किएपछि रास्वपाले आधिकारीक उम्मेदवार तय गर्ने बताएपनि रास्वपा सभापति रवि लामिछानेले प्रसाईलाई आन्तरिक रुपमा तयारी थाल्न निर्देशन दिईसकेको स्रोतको दाबी छ ।

प्रसाई युवाहरुबीच लोकप्रिय मानिन्छन् । पब्लिक फिगरका रुपमा परिचित प्रसाई गत वर्ष रास्वपा प्रवेश गरेका थिए । रास्वपाले युवाको प्रतिनिधित्व गर्न भन्दै प्रसाईंलाई मैदान उर्तान लगाएको हो । झापा निवासी प्रसाईंको इलामका जनतासँग पनि राम्रो सम्बन्ध रहेको बताईन्छ ।

गत वर्षको वैशाखमा तनहुँमा भएको उपचुनावमा कांग्रेसमा रहेका डा स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएर चामत्कारिक नतिजा निकालेको रास्वपाले एक वर्षपछि सोही नतिजा दोहोर्याउन प्रसाईंलाई इलाम लैजान लागेको हो ।