एलपिएल लिग : युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी



कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज सम्पन्न दुई खेलमा युथ अफ टीकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् । 

समूह ‘बि’ अन्तर्गतको खेलमा युथ अफ टीकापुरले दोस्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो । समूह ‘ए’ अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोस्रो जित दर्ता गर्यो । जितसँगै युथ अफ टीकापुर धनगढी स्पोर्ट्स क्लबले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 


पहिलो खेलमा युथ अफ टीकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो । युथ अफ टीकापुरले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ्ग गरे पनि आठ विकेट गुमाएर एक सय दुई रन मात्र बनाउन सक्यो । 

धनगढीको लागि सार्थक धितालले सर्वाधिक ३७ रन बनाए । मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए । युथ अफ टीकापुरको बलिङगमा प्लेयर अफ द म्याच घोषित गौतम केसीले तीन विकेट लिए जुन क्रममा चार ओभरमा ३० रन खर्चिए । सुमित महर्जनले दुई तथा मोहम्मद हुसेन र प्रकाश जैसीले एक÷एक विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङग गरेको युथ अफ टीकापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३५ रन बनायो । युथ अफ टीकापुरको लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए भने गौतम केसीले २६, प्रदीप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए । अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो ।

धनगढी क्रिकेट एकेडेमीको बलिङगमा लेग स्पिनर युवराज खत्री एक्लैले चार विकेट लिए । उनले चार ओभरमा मात्र आठ रन खर्चिए । निरज ऐरले दुई तथा हिक्मत महरा र मान साउदले एक÷एक विकेट लिए । त्यस्तै दोस्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनलाई छ विकेटले पराजित गर्यो । शुक्लाफाँटाले दिएको एक सय १० रनको लक्ष्य धनगढीले १३ दशमलव २ ओभरमा चार विकेट गुमाएर भेट्टायो । 

धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए । प्लेयर अफ द म्याचसमेत घोषित भएका थापाले ३४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । बसन्त कार्कीले अविजित २७ रन बनाए । ३२ रनमा चार विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौँ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे । शुक्लाफाँटाको बलिङ्गमा सुशील रावलले दुई तथा कैलाश ऐर र बसन्त खत्रीले एक÷एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङग गरेको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले २० ओभरमा सात विकेट गुमाएर एक सय नौ रन बनायो । शुक्लाफाँटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए भने विशाल ऐरले २३, रोशन साउदले १७ तथा वसन्त खत्रीले १३ रन योगदान दिए । 

धनगढी स्पोर्ट्स क्लबका बलर अमर सिंह रौटेलाले तीन विकेट लिए । जुन क्रममा चार ओभरमा मात्र १० रन खर्चिए । भोजराज भट्टले दुई विकेट तथा दीपक ठकुरी र भुवन कार्कीले एकरएक विकेट लिए ।

प्रतियोगिताको उपाधि विजेताले रु दुई लाख ५५ हजार र उपविजेताले रु एक लाख २८ हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता छ ।