नेपालद्वारा जापानसामु ११६ रनको लक्ष्य



काठमाडौँ । चार देश सम्मिलित महिला टी–२० सिरिज अन्तर्गत तेस्रो स्थानका लागि जारी खेलमा नेपालले जापानविरुद्ध ११६ रनको लक्ष्य दिएको छ ।

हङकङमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ११५ रन बनाएको छ ।


नेपालकी पूजा महतोले सर्वाधिक ४३ रन जोडिन् । यस्तै, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा इन्दु बर्माले १२ रन बनाए ।

जापानकी अहिल्या चन्डेल, एरिका र अयुमी फुजिकावाले एक–एक विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा शनिबार जापानमाथि ६७ रनको जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ ।

शनिबार नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको जापान निर्धारित २० ओभरमा ४६ रनमै अलआउट भएको थियो ।

चार देशीय सिरिज अन्तर्गत नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। तान्जानिया र हङकङले उपाधिका लागि आजै पौने १२ बजे प्रतिस्पर्धा गर्ने छन्।