कोशीमा एकीकृत समाजवादीबाट दुई मन्त्री थपिए, एमाले असन्तुष्ट



विराटनगर । कोशी प्रदेश सरकारमा दुई जना नयाँ मन्त्री थपिका छन् । उनीहरुले शुक्रबार नै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । एमालेको असहमतिका बाबजुद कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नयाँ मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रबाट मोरङ क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद तथा पार्टीका कोशी प्रदेश सचिव गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जवेगु मन्त्री बनेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ खुवाएका छन् । जबेगु यसअघि उद्धव थापाको नेतृत्वको सरकारमा सहभागी भएका थिए ।


गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले मन्त्रिपरिषदमा एमालेबाट रामबहादुर राना मगर र कांग्रेसका शम्शेर राईलाई यसअघि नै मन्त्री नियुक्त गरिसकेका छन् । चारै मन्त्रीहरुको कार्यविभाजन भने अझै भएको छैन । आइतबारसम्ममा जिम्मेवारी तोकिने गठबन्धन दलका नेताहरुले बताएका छन् ।

यसबीच एमाले सरकारबाट बाहिरिने भएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रको गठबन्धनमा एमाले संलग्न नहुने बताए । आफूहरुलाई कुनै जानकारी नदिइ माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याइएको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको बताए । उनले भने, ‘केन्द्रको अहिलेको दुर्गन्धित गठबन्धनमा हामी हिजो पनि थिएनौं, आज पनि छैनौं र भोलि पनि हुँदैनौं । यस विषयमा हामीले पहिले नै निर्णय गरिसकेका छौं ।’