एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिवद्धता



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्ष पदमा डा. केशव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंको होटल हिमालयमा आयोजित पत्रकार सम्मेलनका बीच संघका वर्तमान महासचिव पौडेलले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।


उनले अध्यक्षमा वर्तमान उपाध्यक्ष महेश श्रेष्ठलाई समर्थन गर्दै आफूले ऊपाध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैजाने दायित्व रहेको भन्दै त्यसका लागि अध्यक्षको उम्मेदवारबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको दुई कार्यकाल अध्यक्ष तथा एक कार्यकाल प्रमुख संरक्षकको रुपमा समेत काम गरिसकेका उनले एनआरएनए अभियान एउटा निर्णायक मोडमा पुगेको बताए ।

दशौँ महाधिवेशनमा उत्पन्न विवादलाई समाधान गर्दै संस्थालाई एकजुट गरेर अगाडी बढाउने जिम्मेवारी सबैसामु रहेको उल्लेख गर्दै पौडेलले दसौं विश्व सम्मेलनमा सबै अभियन्ताले महासचिवको रुपमा गरेको विश्वासप्रति सम्मान व्यक्त गर्दै आउँदो ११ औं महाधिवेशनमा उपाध्यक्ष पदको उम्मेदवार बन्ने घोषणा गरेको बताए ।

पौडेलले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन । जसमा निर्वाचित भई आउने अध्यक्ष सहितको कार्यसमितिले ल्याउने एनआरएनए केन्द्रित योजनाहरुको कार्यान्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन । आफूलाई उपाध्यक्षको रुपमा उभ्याई रहँदा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन ।

पहिलो मुद्दा भनेको नेपाली नागरिकताको निरन्तरता नै हुने उनले बताए । ‘अहिले संविधानप्रदत्त गैरआवासीय नेपाली नागरिकताको सफल कार्यान्वयन सँगै एक पटकको नेपाली सधैंको नेपाली भन्ने हाम्रो मूल उद्देश्य अनुरुप नेपाली नागरिकताको निरन्तरताको विषयलाई टुंगोमा पुर्‍याउन मेरो भूमिका रहनेछ’, उनले भने, ‘खासगरी अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोप लगायतका देशमा रहनुहुने त्यहाँको नागरिकता लिनुभएका गैरआवासीय नेपालीले नेपालमा रहेको सम्पत्तिलाई लिएर धेरै असजिलो अवस्था व्यहोर्नु परिरहेको छ । नेपाल भित्र केही गर्नु पर्दा पनि विदेशी दर्जामा गर्नु परिरहेको छ, यी बाहेक पनि मुख्य कुरा आफूलाई एक प्रकारको विभेद जस्तो व्यहोर्नु परिरहेको छ तसर्थ त्यसलाई टुंगोमा पुर्‍याउन नेपाली नागरिकताको निरन्तरता नै आवश्यक छ ।’

दोस्रो मुद्दा भनेको एनआरएनएलाई नै संस्थागत बनाउनु रहेको उनको भनाइ छ । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्न सकिने भएकाले त्यसतर्फ पनि आफ्नो ध्यान रहने उनले बताए । विश्वभर रहेको अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगबाट पुर्‍याउन आफूले काम गर्ने पौडेलले बताए।

यस्तै तेस्रो मुद्दा गैर आवासीय नेपालीका लागि एनआरएनएले गर्नुपर्ने काम भएको उनले जनाएका छन । ‘देश अनुसार एनआरएनहरुका आवश्यकता फरक फरक छन । त्यसलाई लिपिबद्ध गर्दै सम्बोधन गर्ने तर्फ एनआरएनएले पहल गर्नुपर्ने हुन्छ । दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजार जस्ता धेरै विषयहरुमा हामीले कार्य गर्नुपर्ने छ त्यस तर्फ मेरो भूमिका रहनेछ’, उनले भने ।

यसैगरी विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न आफूले पहल गर्ने पनि पौडेलले बताए ।

साथै, संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिने, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्ने, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा पनि आफूले संस्थागत रुपमा पहल गर्ने पौडेलको प्रतिबद्धता रहेको छ ।

आफ्नो उम्मेद्वारीप्रति विश्वभरबाट सहभागि हुने प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीबाट साथ र सद्भाव रहने उनको विश्वास रहेको छ ।

श्रेष्ठको टिमबाट वर्तमान महासचिव केशव पौडेलले पनि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले अध्यक्षमा श्रेष्ठलाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा उपाध्यक्ष नरेन्द्र भाट, युवा उपाध्यक्ष राज रेग्मी, सचिव प्रविन गुरुङ,सचिव गंगाधर गौतम, प्रवक्ता सोम सापकोटा, अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदीसहित अन्य एनआरएनए अभियन्ताहरूको भौतिक र अनलाइनमाध्यममार्फत सहभागिता रहेको थियो ।

आगामी अधिवेसनका लागी विश्वबाट उम्मेदवारी दिने क्रम जारी रहेको छ ।