पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम



लुब्लिन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ ।

बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। 


मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो ।

निर्माण स्थलमा भेटिएको यो बमको तौल २५० केजी रहेको छ । लगत्तै बम डिस्पोजल टोलीले बम निकालेर निष्क्रिय पारेको थियो । खतराको चेतावनी सकिए पछि मानिसहरूलाई घर फर्कन अनुमति दिइएको थियो ।

पोल्याण्डमा यसअघि पनि दोस्रो विश्वयुद्धका बम धेरै पटक भेटिएका छन् । केही दिन अघि जर्मनीको डसेलडर्फ सहरमा ५०० किलोको बम भेटिएको थियो । बम फेला परेपछि १३ हजार मानिसलाई अस्थायी रूपमा विद्यालयमा सारिएको थियो ।

गत महिना पनि विद्यालयको जीर्णोद्धारका क्रममा केही तोपका गोला फेला परेका थिए । गत वर्ष पोल्याण्डको राजधानी वार्सामा ५०० किलोको बम फेला परेपछि ३० हजार मानिसले अस्थायी रूपमा आफ्नो घर छाड्नुपरेको थियो ।