पनौतीको बजेट एक अर्ब ५० करोड



काभ्रे । काभ्रे पनौती नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । नगरले सोमबार तेह्राँै नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । सभामा आउँदो आवका लागि नगरप्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गरेकाे बजेट सर्वसम्मतले पास गरिएको छ ।

विनियोजित बजेटमध्ये नगरको आन्तरिक आय रु ४० करोड ७१ लाख, राजस्व बाँडफाँटबाट रु २० करोड नौ लाख, नेपाल सरकारको वित्तीय हस्तान्तरण, बागमती प्रदेश सरकारको वित्तीय हस्तान्तरण र जन सहभागितासहित रु एक अर्ब ५० करोड बजेट विनियोजन गरिएको हो ।


नगरको नीति तथा कार्यक्रम र अर्थ विधेयक, विनियोजन विधेयक तथा आय व्ययसहितको बजेट पास भएको छ । यस्तै सभाले २०७९÷८० को वार्षिक प्रतिवेदन तथा नगरले गरेका निर्णय अनुमोदन गरेको छ । यही असार १० गते सुरु गरिएको नगरसभा कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको थियो । कर्मचारीसम्बन्धी ‘ओएनएम सर्वे’सम्बन्धी विषयमा सहमति नहुँदा उक्त दिन बजेट र नीति तथा कार्यक्रम दुवै प्रस्तुत हुन सकेन । सोमबार आयोजित सभामा भने उक्त प्रस्ताव कार्यसूचीमा समावेश नै गरिएन । भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष नगरस्तरीय योजना ठेक्का प्रक्रियाबाट सञ्चालन गर्ने बताए ।

प्रस्तुत नीति तथा कार्यक्रममा नगरस्तरीय सबै र वडास्तरीय रु १० लाखभन्दा माथिका सबै योजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिने उल्लेख छ । तर बजेटमा जनसहभागितामार्फत रु ३८ लाख रकम आम्दानी हुने प्रक्षेपण गरिएको छ । यस्तै नीति तथा कार्यक्रममा ‘पनौती नगरको दिगो विकासको आधारः गतिशील अर्थतन्त्र, प्रविधि र पूर्वाधार’ नारालाई सार्थक बनाउन समृद्ध पनौती निर्माण अभियानलाई तीव्रता दिने, ‘नदी एवं खानीजन्य स्रोतको उत्खनन, प्रशोधन तथा ढुवानीलाई व्यवस्थित गराउँदै वडा नं २ र १२ का प्रभावित क्षेत्र सिमाङ्कन गरी खानीजन्य क्षेत्र घोषणा गरिने जनाइएको छ ।

नगर क्षेत्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवर्द्धन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, वडा कार्यालयसम्मका सडक कालोपत्र, सिसी क्यामेरा जडान, ढलको पहुँच नभएका स्थानमा सोकपिट बनाउन प्रेरित गर्ने, जेटिङ्ग मेसिनको प्रबन्ध गर्ने उल्लेख छ ।

यसैगरी सुशासन तथा संस्थागत विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, कृषि, महिला तथा बालबालिका, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, सम्पदा, वन तथा वातावरण, पर्यटन, सहकारी, पञ्जीकरण तथा सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, सूचना तथा प्रविधि, प्राकृतिक स्रोत व्यवस्थापन, सार्वजनिक सम्पत्ति उपयोग तथा संरक्षण, प्रधानमन्त्री रोजगार सेवा कार्यक्रमअन्तर्गत नगरमा गर्ने विभिन्न योजना र कार्यक्रमका बारेमा नीति तथा कार्यक्रममा सामावेश गरिएको छ ।

डिजिटल पनौतीको अवधारणालाई पूर्णता दिने, कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम तयार गरी निःशुल्क वितरण गर्ने, पनौती क्षेत्रका भूमिहीन सुकुम्बासीलाई धनी प्रमाणपुर्जा वितरण गर्ने, प्रदूषण नियन्त्रण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने, नगरभित्र औद्योगिक ग्रामको स्थापना गर्ने, माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयका रूपमा विकास गर्ने, खोपासी स्वास्थ्यचौकीलाई नगर अस्पतालमा रुपान्तरण गर्ने, सामुदायिक विद्यालयमा ‘इ–लाइब्रेरी सर्भर’को व्यवस्था गरी अनलाइन शिक्षामा पहुँच विस्तार गर्ने, ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई नगरको सहकार्यमा समय–समयमा तीर्थाटन गराइनेसमेत नीति तथा कार्यक्रममा जनाइएको छ । सो अवसरमा अर्थ विधेयक, विनियोजन विधेयक, २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति गठन कार्यविधि–२०८०, लेखा समिति प्रतिवेदन, न्यायिक समिति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।