सिन्धुकपको उपाधि श्री भगवती क्लब टोखालाई



सिन्धुपाल्चोक । नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ ।

लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।


निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा सुरुआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो ।

गत जेठ २८ बाट सुरु भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्कालगायतले पुरस्कार प्रदान गरे ।

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद दुई लाख र उपविजेता काभ्रेले नगद एक लाख पाएको छ ।