अवैध आप्रवासीमाथि बेलायतको कडाइ, छापास्थलमै पुगे प्रधानमन्त्री सुनक



लन्डन । बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्। सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।

बेलायती गृह विभागले गरिरहेको छापाको अवलोकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफैँ सहभागी भएका थिए । प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट (उत्तरी लन्डन) मा अध्यागमन प्रवर्तन अधिकारीहरूसँग गएका हुन् । 


उनले गृह विभागका अधिकारीहरूले गरिरहेको छापाको कामको अवलोकन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मूलका बेलायती प्रधानमन्त्री सुनकले अर्को वर्ष हुने आम चुनावअघि नै अवैध आप्रवासीविरुद्धको कारबाहीलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेका छन् ।

देशका आन्तरिक मन्त्री सुएला ब्रेभरम्यानले भनिन्, ‘अवैध कामले हाम्रा जनतालाई हानी पुर्‍याउँछ, इमानदार कामदारलाई रोजगारीबाट ठगिएको छ र कर तिरेर सार्वजनिक कोषमा ठगी भएको छ । अध्यागमन प्रवर्तन अधिकारीहरूले सो अपरेशनको क्रममा बेलायतमा अवैध प्रतिष्ठानहरूमा छापा मारेका थिए । 

अधिकारीहरूले १ सय ५९ स्थानमा छापा मारेर १०५ विदेशी नागरिकलाई पक्राउ गरिसकेका छन् । उनीहरु रेस्टुरेन्ट, कार धुने, नेल बार, नाई पसल र सुविधा स्टोर लगायतका व्यवसायिक परिसरबाट पक्राउ परेका हुन् ।

अवैध कारोबार गर्ने, नक्कली कागजात राख्नेलगायतका कसुरमा अभियुक्त पक्राउ परेका छन् भने कतिपय ठाउँमा नगद समेत बरामद गरिएको छ । सो छापा हान्ने काम निरन्तर जारी रहने जनाईएको छ ।