सम्पादकीय : हामी आभारी छौं !



एक्सक्लुसिभ न्यूज टाईम डट कम आज २ वर्ष पूरा गरी तेस्राे वर्षमा प्रवेश गरेको कुरा सुनाउन पाउँदा हामी हर्षित मात्र नभई गौरवान्वित महसुस गरिरहेका छौं । सूचना, समाचार, मनोरञ्जन र विज्ञापनको लागि आम नागरिकको हात हातको संचार सारथि बनेर सुरु भएको एक्सक्लुसिभ न्यूज टाईम डट कमको डिजिटल पत्रकारिता अभ्यास तेस्रो वर्षमा प्रवेश गरेको छ ।

तेस्रो वार्षिकोत्सवको शुभ उपलक्ष्यमा हामी हाम्रा समस्त पाठक, दर्शक, विज्ञापनदाता, सहयोगी र शुभेच्छुकहरुप्रति हृदयदेखि आभार प्रकट गर्दछौं । आजको दिनमा एक्सक्लुसिभ न्यूज टाईम डट कम जे छ, जुन स्तरमा डिजिटल पत्रकारिताको दुनियाँमा स्थापित र लोकप्रिय छ, यसको जग र जननी समस्त पाठक, दर्शक र विज्ञापनदाताहरु नै हुनुहुन्छ । यहाँहरुको प्रत्यक्ष, परोक्ष साथ, सहयोग र समर्थनको मूल्य हामी शव्दमा व्यक्त गर्न सक्दैनौं ।


हामी समस्त शुभेच्छुक जनमन, सहयोगी संघ, संस्था र निकायहरुप्रति आभारी छौं, सदा रहिरहने छौं । आम सञ्चार तथा पत्रकारिताको दुनियाँमा पछिल्लो समयमा न्यू मिडियाका रुपमा डिजिटल प्लेटफर्महरुले जुन खालको विश्वव्यापी प्रभाव बढाउदै लगेका छन, त्यसको एक अंश र अभ्यास थियो हाम्रो एक्सक्लुसिभ न्यूज टाईम डट कमको रोमाञ्चक सुरुवात ।

शव्द, चित्र र दृश्यका तीनै विधामा सकेसम्म धेरै विषयमा सूचना, समाचार, जानकारी र शिक्षा मात्र होईन, भरपुर मनोरन्जन दिदै विज्ञापनको सेतु बन्ने हाम्रो प्रयाश एकहदसम्म सफल भएको छ । निरन्तरता, विश्वसनियता र जिम्मेवारीवोधको २ वर्षे हाम्रो सफल सञ्चार कर्मको सफलताका लागि वधाईका हकदार समस्त पाठक, दर्शक र विज्ञापनदाता नै हुनुहुन्छ ।

पछिल्ला दिनमा अनलाईन पत्रकारिताको विश्वसनियता आम पाठक वा दर्शकको वीचमा अग्निपरीक्षामा छ । देश हित र जनताको सम्वृद्धिलाई केन्द्रविन्दुमा राखेर तथ्यमा आधारित सत्य पस्कने एक्सक्लुसिभ न्यूज टाईम डट कमको हाम्रो २४ महिने २४सै घण्टे निरन्तर अभ्यासले हामीलाई धेरै सिकाएको छ, निखारेको छ, परिपक्वताको राजमार्गतिर लम्काईरहेको छ । जति जति जवानी थपिदै जान्छै, उमेर चढ्दै, बढ्दै जान्छ, एक्सक्लुसिभ न्यूज टाईम डट कम थप जिम्मेवार र उत्तरदायी पत्रकारितामा खरो र दह्रो रुपमा समर्पित हुदै जानेछ ।

हामी पत्रकारिताको मूल मर्म र धर्मबाट अलिकति पनि बिचलित नभई देश र जनताको पक्षमा सदा लागिरहने प्रण दोहोर्याउछौं । एक्सक्लुसिभ न्यूज टाईम डटकमले मुलतः प्रवासी नेपालीहरु, त्यसमा पनि सूर्योदयको देश जपानमा बसेर सगरमाथाको देश नेपाललाई सधै मन मुटुमा राख्दै कर्ममा रमाएका अनगिन्ती पौरखी पात्रहरु र तिनका असल सफल , प्ररेक कर्महरुलाई देशसंग जोडने भगिरथ प्रयत्न गरेको छ ।

विदेशको भूमिमा बसेर जन्मभूमि नेपालको समग्र र सर्वकालिक विकासमा अहोरात्र खटिएका देशभक्त पौरखी जनमनहरुको संघर्ष, समर्पण र योगदानको गाथालाई संसारभर फैलाउने एक्सक्लुसिभ न्यूज टाईम डटकमको प्रयाश पाठकीय र दर्शकीय कोणमा अब्बल रहेको विश्वास हामीले लिएका छौं । समयको हिसाबले २ वर्ष छोटो अवधि भए पनि यो विचमा गुज्रेको समय देश नेपालका लागि मात्र होईन, संसारकै लागि अनेकन प्रतिकुलताहरुले भरिएको चुनौतिपूर्ण रहेको तथ्यमा कसैको बिमति छैन ।

एक्सक्लुसिभ न्यूज टाईम डट कमले पनि चुनौतिका पहाड पन्छाएर नै, अभाव, दबाब र प्रभावहरु झेलेर नै छोटो समयमा लामो र गहिरो अनुभव र शिक्षा हासिल गरेको छ । हामी बितेका वर्षहरुमा जानअन्जानमा भएका सबै भुलहरुप्रति क्षमाप्राथी छौं । भविष्यमा त्रुटिरहित रुपमा आफ्नो पेशागत धर्म र कर्ममा दत्तचित्त भएर लागिरहने प्रण गर्दछौं । हामीलाई बिगतमा भन्दा ज्यादा आम पाठक, दर्शक र विज्ञापनदाताहरुको प्रत्यक्ष सहयोग र समर्थनको खाँचो छ । तपाईहरुको मार्गनिर्देशनमा एक्सक्लुसिभ न्यूज टाईम डटकमले आगामी अनेकन वर्षहरुको यात्रा निश्चित गर्नेछ ।

हाम्रो स्वार्थ सामाजिक संजालको भ्रामक र तथ्यहिन गलत संचारणबाट सबैलाई जोगाउनु हो । हाम्रो प्रयाश थोरै समयमा सबैलाई धेरै सूचना, समाचार, ज्ञान र मनोरन्जन दिनु नै हो । हाम्रो अभ्यास पौरखी, उद्यमी र रचनात्मक जनमनहरुको पौरखलाई, उत्पादनलाई संसारसंग जोडने सेतु बन्नु नै हो । हामी देशभक्तिलाई नै केन्द्रविन्दुमा राख्छौ, शीरमा देश र मनमा जनहितको लक्ष्य शिवाय एक्सक्लुसिभ न्यूज टाईम डटकमको कुनै अर्को स्वार्थ छैन, लक्ष्य छैन ।

हर संकटबाट पाठ सिकेर, हर भुलहरुबाट सबक सिकेर प्रकृतिले सुन्दर र संस्कृतिले धनी बनाएको देशलाई संसारभर चिनाउने र थप चिनाईरहने एक्सक्लुसिभ न्यूज टाईम डटकमको आगामी यात्रा पनि यहाँहरुको अमूल्य सल्लाह, सुझाव र मार्गनिर्देशन अनुरुप नै भैजाने वाचा दोहोरयाउदै तेस्रो वार्षिकोत्सवको पुनित उपलक्ष्यमा पुनः सबै दर्शक, पाठक, विज्ञापनदाता तथा समर्थक र शुभेच्छुकहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं । वधाई, आभार सबैलाई, जय होस एक्सक्लुसिभ न्यूज टाईम डटकमको, जय होस सबै सबैको, सधै सधै ।