बुटवलका मासु पसलमा अनुगमन



बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो ।

उपमहानगरपालिकाले २९ मासु पसल र ‘सप्लायर्स’मा अनुगमन गरी एक सय एक किलो अखाद्य मासु जफत गरी नष्ट गरेको छ । बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी सङ्घ सहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यबाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन् ।


अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसल एकैठाउँमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा ‘सप्लायर्स’लाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको उनले बताइन्।उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकालाई कानुनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने जानकारी दिइन् ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए । मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपक्षी बध गर्दा र मासु बिक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।