नेपालमा भारतीय लगानी प्रोत्साहन गर्छौँ : राजदूत श्रीवास्तव



काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न भारतीय कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँमा आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटनसत्रमा मन्तव्य राख्दै उनले भने, ‘व्यापारिक सुविधालाई प्रोत्साहन मात्र होइन व्यापारका अवसर पनि बढाउन मद्दत हुनेछ। नेपालले विद्युत् निर्यात पनि गरिरहेको छ जसबाट दुई देशकाबीचका सम्बन्धमा नयाँ आयाम पनि थपिएको छ ।’


नेपालको विकासका लागि आगामी दिनमा भारतीय सहयोग रहिरहने प्रतिबद्धता दोहोर्‍याउँदै राजदूत श्रीवास्तवले भने, ‘हामीले एकीकृत चेकपोष्टको निर्माण गरिरहेका छौँ । केही बनिसकेका छन् केही बन्ने क्रममा छन् । त्यसैगरी अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि काम भइरहेको छ । ऊर्जा व्यापारमा दीर्घकालीन सम्झौता पनि भएको छ । हामी आपसी सहकार्यमा विभिन्न क्षेत्रमा काम गरी नै रहेका छौँ ।’