‘युवाले खोजिरहेको कुरा बुझ्नु जरुरी छ’ : शेखर कोइराला



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवाको सङ्ख्या देशमा घट्दै जानु सुखद नरहेको बताएका छन् । शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समरोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताए । 

“युवाले पार्टी र देशबाट के खोजिरहेको ? यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो संकेत होइन । युवालाई काङ्ग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासंघले समेत भूमिका खेल्नु जरुरी छ”, उनले भने । उनले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रीत भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिए । 


नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकारे । “कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ”, उनले भने, “समयानुकूल परिमार्जित गर्दै महासंघलाई अगाडि बढाउनु जरुरी छ । यहाँ काङ्ग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।” उनले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राखे । 

भेलामा देशभरबाट सांस्कृतिककर्मीको उपस्थिति रहेको महामन्त्री शिवशंकर रिजालले जानकारी दिए । “सातै प्रदेशबाट प्रतिनिधि आएका छन् । यस भेलाले महासंघलाई अघि बढ्न मार्गदर्शन समेत दिएको छ”, महामन्त्री रिजालले भने । उनले छ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी द्रिए । भेलाको उद्घाटन दिउँसो कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गेका थिए ।