पूर्वी नाकामा थपिँदै ‘सिसी क्यामेरा’



झापा । पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ ।

भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।


सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

सिमा नाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उनको भनाइ छ । मेची भन्सार कार्यालय र इप्रका कार्यालय अगाडि जडान गरिएका १६ वटा क्यामेरा भने पहिल्यैदेखि चालु अवस्थामा छन् ।

पूर्वी नाका काँकडभिट्टामा चार वर्षअघि मेचीनगर नगरपालिकाको सहयोग र मेची सामुदायिक सेवा केन्द्रको सहकार्यमा रु १८ लाखको लागतमा २३ वटा सिसी क्यामेरा बजारको महत्त्वपूर्ण स्थानमा जडान गरिएका थिए । ती सबै क्यामेरा एक वर्षअघि नै कि त बिग्रिए, कि त तस्करले फुटाइदिए ।

‘पूर्वी नाका अत्यन्त महत्त्वपूर्ण र संवेदनशील भएका कारण यहाँ हरेक गौडा–गौडामा सिसी क्यामेराको आवश्यकता छ’, उनले भने, ‘पहिलेका सबै बिग्रिइसकेका रहेछन् । सीमातिरका १६ वटा चलिरहेका थिए । भर्खरै २६ क्यामेरा बजारमा जडान गरिएको छ । यतिले पुग्दैन ।’

अहिले जडान गरिएका सबै सिसी क्यामेराको कन्ट्रोल रुम प्रहरी कार्यालयमै रहेको छ । काँकडभिट्टा क्षेत्रमा अपर्याप्त भएका कारण सङ्घीय सरकारसँग थप बजेट मागेर सहरमा सिसी क्यामेराको जालो बिछ्याउने मेची सामुदायिक सेवा केन्द्रको योजना छ ।

प्रहरी नायब उपरीक्षक भारतीले हरेक टोलका विकास समितिहरूले आफ्नै पहलमा सिसी क्यामेरा जडान गर्न सके र बैङ्क तथा वित्तीय संस्थाले बजार र सडकमा सार्वजनिक सिसी क्यामेरा राख्न अग्रसरता देखाउने हो भने सहरमा अपराध न्यूनीकरण, नियन्त्रण र अपराधीको पहिचानमा सहजता हुने बताए ।

मेचीनगरको अन्य सहरमा पनि पर्याप्त मात्रामा सिसी क्यामेरा जडान गरिएका छैनन् । मेचीनगरको वडा नं ६ मा रहेको काँकडभिट्टा पूर्वी नाका हो भने वडा नं १० को धुलाबारी, वडा नं ७ को इटाभट्टा र वडा नं १३ को चार आली पूर्वपश्चिम राजमार्गमा रहेका ठुला सहर हुन् । यी चार वटै सहरको अधिकांश स्थानमा कि त सिसी क्यामेरा जडान गरिएका छैनन् कि त जडान भइसकेका पनि बिग्रिइसकेका छन् ।

दुई वर्षअघि धुलाबारी चोकमा स्थानीय नगरपालिका र बजार व्यवस्थापन समितिको सहकार्यमा सिसी क्यामेरा जडान गरिएका थिए । अहिले ती क्यामेरा थोत्रो बनेका छन् । धुलाबारी चोकमा रहेको प्रहरीको ट्राफिक बिटमा थन्क्याइएको कन्ट्रोल रुममा राखिएको टिभी स्क्रिनमा माकुराले जालो लगाएको छ ।

धुलाबारी, इटाभट्टा र चार आली बजार क्षेत्रमा नयाँ सिसी क्यामेरा जडानको पहल भइरहेको छ । मेचीनगरको वडा नं ९ र १० ले सिसी क्यामेरा जडानका लागि बजेट छुटाएका छन् । तर जनसहभागिताको कुन अवधारणाबाट योजना अघि बढाउने भन्नेमा एकमत हुन नसक्दा वडाको बजेट खर्च भएको छैन ।

सहर र सडकमा जडान गरिएका सिसी क्यामेराको नियमित हेरचाह र मर्मत सम्भार नहुँदा समस्या भएको धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रविन बस्नेत बताए ।

नगरपालिका, वडा कार्यालय, वाणिज्य सङ्घहरू र बजार व्यवस्थापन समिति मिलेर सहरलाई प्रविधियुक्त सुरक्षित सहर बनाउन सकिने उनले बताए ।

उनले स्थानीय बैङ्क तथा वित्तीय संस्था र ठुला उद्योगीले आफ्ना लागि जडान गरिएका सिसी क्यामेरामध्ये केही थान सार्वजनिक हितका लागि सडकतिर लक्षित गराउनुपर्ने सुझाव दिएका छन् ।

ठुला बैङ्कले जडान गरेका सिसी क्यामेरा आफ्नो निजी ढोका र कोठाभित्र मात्र सीमित तुल्याउने गरेका उनको दाबी छ ।

पूर्वी नाका अन्तर्राष्ट्रिय सुरक्षाका दृष्टिले समेत संवेदनशील भएकाले राज्यले सडक, बजार र सीमावर्ती चोकमा शक्तिशाली सिसी क्यामेरा जडान गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिएको छ ।