मेलम्चीमा भलिबल प्रतियोगिता हुने



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । आज मेलम्चीमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिए ।

मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा सर्वाधिक धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुनलागेको यो प्रतियोगिता जिल्लाकै पहिलो भएको आयोजक श्रेष्ठले दाबी गरे ।


सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएका श्रेष्ठ हाल अमेरिका छन् । यस वर्ष भलिबलबाट सुरु हुने यस प्रतियोगिता आगामी वर्षहरूमा निरन्तरता दिने राम श्रेष्ठले प्रतिबद्धता जनाएको आयोजक समितिका श्रेष्ठले जानकारी दिए ।

कोरोना, हेलम्बु मेलम्ची बाढीमा राहत तथा उद्धार तथा मेलम्ची पुनःनिर्माणमा सहयोग गर्दै आएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट मेलम्ची बन्दै छ भन्ने सन्देश प्रवाहका लागि सहयोग पुग्ने आयोजकले विश्वास ब्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट मेलम्चीमा पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि भलिबलको आयोजना गर्न लागिएको बताए । उनले यसले गर्दा जिल्लाका खेलाडीमा हौसला मिल्नुका साथै मेलम्चीको प्रचारमा टेवा पुग्ने बताए ।