राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा इटालेली प्रशिक्षक एनेस नियुक्त



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गरेको छ । बुधबार बसेको एन्फा कार्यसमिति बैठकले इटालियन नागरिक एनेसलाई पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षणमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अब्दुल्लाह अल्मुताइरीको राजीनामा स्वीकृत भएयता राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो । यद्दपी भदौ र कात्तिकमा भएका बंगलादेश र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि भने एन्फाले प्रदीप हुमागाई र प्रवेश कटुवाललाई कार्यवहाक प्रशिक्षक नियुक्त गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।


जसमा १ सय ६८ जनाको आवेदन परेको उल्लेख गर्दै एन्फाले त्यसमध्ये २० जनालाई अन्तिम सूचीमा राखेको थियो । त्यसमध्येबाट युइएफए प्रो लाइसेन्स प्राप्त एनेसेलाई नियुक्त गरेको एन्फाले जनाएको छ ।

भारतको आइएसएलमा नर्थ इस्ट युनाइटेडको कमान सम्हालेका एनेसेको प्रशिक्षकमा गोकुलम केरेला एफसीले दुई पटक आई लिग उपाधि जितेको थियो । ३८ वर्षीय एनेसले सन् २०१९ मा बेलेजको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भएर काम गरेका थिए।