राजासहितको हिन्दु राष्ट्र स्थापना गर्न आएका छौँ, हेप्ने–होच्याउने काम नहोस् : धवलशमशेर राणा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले राजासहितको प्रजातन्त्र स्थापना गर्ने लक्ष्य लिएर संसदमा आएको बताएका छन् ।

प्रतिनिधि सभाको आज (बुधबार) को बैठकमा विशेष समय लिएर बोल्दै सांसद् जवराले राप्रपालाई प्रहार नगर्न अन्य राजनीतिक दलका सांसद्लाई आग्रह गरेका हुन् ।


उनले पूर्व वक्ता सांसदहरूले राप्रपामाथि प्रहार गरेको बताउँदै भने– ‘मैले पार्टीको कुरा नगर्ने बिचार गरेको थिएँ तर माननीयज्यूले प्रहार गर्नुभयो । यो कुरा सत्य हो राप्रपा पार्टी सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौँ । हामी नेपालमा फेरि सनातन हिन्दु राष्ट्र कायम गर्न आएका छौँ । हामी फेरि राजा सहितको प्रजातन्त्र स्थापना गर्न आएका छौँ र त्यो कुरा संविधानले रोक्दैन । संविधानमा यो अपरिवर्तनीय बुँदा भनिएको छैन । हामीले बोल्न पाउनुपर्छ हामी बोल्छौँ र त्यो हामी समयमा कार्यान्वयन गर्छौ । त्यसको मतलब यो होइन कि हामी संविधानलाई मान्दैनौँ, व्यवस्थालाई मान्दैनौँ । नमान्ने भएको भए हामी जङ्गल जान्थ्यौँ । बन्दुक उठाउँथ्यौँ । यही संविधान र व्यवस्थाभित्र बसेर यो संविधानलाई हामीले बोकेको मूल्य र मान्यताभित्र बसेर परिवर्तन गर्न जनताले भोट दिएर हामी आएका छौँ । हामीलाई यो संसदभित्र हेप्ने काम नहोस् ।’