छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल



कञ्चनपुर । कञ्चनपुरमा छाडा चौपायाको समस्या बढ्दै गएको छ। पछिल्लो समय पशुको संरक्षण नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको हो। स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि खर्च गरे पनि समस्या समाधान हुन नसकेको भीमदत्त नगरपालिका निवासी हरिभान भट्ट बताए।

“छाडा चौपायामा स्थानीय तहले धेरै पैसा खर्चिएका छन्, तर अझै समस्या समाधान हुन सकेको छैन,” उनले भने, “छाडा चौपाया राख्न कान्जीहाउस (गौशाला) बनाइयो तर अहिले उपयोगविहीन छन्।”


यस्ता चौपायाको समस्या समाधान नहुँदा स्थानीय चिन्तित बनेका छन्। बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयले नगरपालिका परिसरमा थुनेका छन्।

नगरपालिकालाई छाडा चौपायाको समस्या समाधानका लागि दबाब दिन चौपाया नगरपालिकामा थुनिएको कमला चौधरीले बताए। छाडा चौपाया नगरपालिकाको परिसरमा तीन दिनदेखि राखिएका छन्। समस्या समाधान नहुञ्जेसम्म नगरपालिकामा चौपाया थुनिने उनको भनाइ छ।

चाहिञ्जेल पाल्ने र पछि छाड्ने प्रवृत्तिले छाडा चौपायाको समस्या समाधान हुन नसकेको पशु संरक्षणकर्मी बताउँछन्। पछिल्लो समय पशुप्रति मानवका व्यवहार क्रुर हुन थालेको पशु संरक्षणका सक्रिय हरिशरण महाराजले बताए।

पशुलाई धर्ममा पूजा गर्ने तर मनमा नमान्ने प्रवृत्ति मौलाउँदा पशु संरक्षण हुन नसकेका उनको भनाइ छ।

छाडा चौपाया व्यवस्थापन हुन नसक्दा पूर्वपश्चिम राजमार्ग, बजार क्षेत्रभर नै पशु चौपायाको समस्या जस्ताको त्यस्तै छ। भीमदत्तले ५० लाख खर्चेर निर्माण गरेका ‘कान्जिहाउस’ मा एउटा पनि पशु चौपाया छैनन्। जग्गा भाडामा लिएर बनाएको गौशाला जीर्ण बन्दै गएको स्थानीय राधेश्वर धामीले बताए।

पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्क, सुडा लालपुर, सिसैया, दैजी, गुलरिया, कृष्णपुरसम्म जताततै छाडा चौपाया देखिन्छन्। राजमार्गमा छाडा पशुका कारण दुर्घटनाको खतरा पनि बढेको छ।

छाडा चौपायाका कारण यात्रुले राजमार्गमा सास्ती खेप्नु परेको छ। छाडा चौपायाले खेतमा लगाएका बाली सखाप गर्ने गरेको बेदकोट–९ की काजल साउदको भनाइ छ।

बेदकोट नगर प्रमुख भोजराज बोहराले छाडा चौपाया व्यवस्थापनका लागि काम अगाडि बढेको बताए। “चुने पानीमा चौपायाका लागि टहरा बनाइएको छ, वडा नम्बर ४ मा पनि जग्गा भाडामा लिएर व्यवस्थापनको काम अगाडि बढेको छ,” उनले भने, “दुई महिनाभित्र सडकका चौपायालाई त्यहाँ व्यवस्थापन गर्ने गरेर तत्कालीन र दीर्घकालीन योजना अगाडि बढाएकाछौं।”

पूर्वपश्चिम महेन्द्र राजमार्गमा पर्ने भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिकामा छाडा चौपायाको समस्या छ। छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको उनले जानकारी दिए। नगरपालिकाले चालू आर्थिक वर्षमा छाडा चौपाया व्यवस्थापनका लागि ४० लाख बजेटको व्यवस्था गरेको छ।