पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण



कावासोती । पूर्वी नवलपरासीमा पहिलो पटक छाला प्रत्यारोपण भएको छ । गत भदौमा आगोमा पोलिएका बिरामीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलो पटक छाला प्रत्यारोपण गरिएको हो ।

बुलिङटार–४ सिंचाङका ५१ वर्षीय तुलबहादुर सार्कीको आगोमा परेर पोलिएको दाहिने हातको निःशुल्क छाला प्रत्यारोपण गरिएको अस्पतालका जनरल सर्जन डा अर्चन घिमिरेले बताए । पहाडी भेगका विपन्न समुदायका उनको शल्यक्रिया भएपछि परिवारमा खुसी छाएको छ । उनकी श्रीमती पदमकुमारी सार्कीले भनिन्, “हामीलाई त पोलेको घाउ कसरी सञ्चो होला भनेको त छालासमेत राम्रो हुन्छभन्दा खुसी छौँ, अस्पतालबाट गाउँ जाँदा सबै खुसी हुन्छन् होला ।”


हातको कुहिनो ( एल्बो) एरियामा पोलेको थियो विकट पहाडी बुलिङटार गाउँका अति विपन्न समुदायका व्यक्ति भएकाले अस्पतालको सामाजिक सेवा इकाइमार्फत उनको सम्पूर्ण खर्च निःशुल्क हुने गरी उपचार गरिएको सर्जन घिमिरेले बताए ।

जिल्लामा सरकारी र निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट पहिलो पटक छाला प्रत्यारोपण गर्न अस्पताल सफल भएको हो । जनरल सर्जन डा अर्चन घिमिरे, डा कमलराज न्यौपाने, डा जितेन्द्र कण्डेलको टोलीले शल्यक्रियामार्फत छालाको प्रत्यारोपण गरेको थियो । जिल्ला अस्पतालबाट शल्यक्रियाको सेवा सुरु भएपछि यहाँका नागरिकले सेवा पाएका छन् ।