किसानका घरमै निःशुल्क पशु उपचार सेवा



खजुरा ।  हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गरे । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैसीको उपचार गरिदियो । यादव डुडुवाका धेरै भैँसी पाल्ने कृषकमा गनिन्छन्। उनीसँग एक सय २० वटा भैँसी छन् । भैँसीपालन फार्म सञ्चालन गरेका  यादवले दैनिक तीन सय लिटर बढी दूध नेपालगञ्ज र कोहलपुर पुर्‍याउँछन् । 

रामबहादुर थापा र गीता बोहराले फोनबाट  आफ्नो पशु बिरामी भएको खबर पालिकामा गरे । पशु प्राविधिकको टोलीले दुवै जनाको घरमा गएर उपचार र औषधि दियो । यसरी पालिकाले घरमै गएर पशुको उपचार गरिदिने भएपछि कृषक लाभान्वित भएका छन् । ‘घरघरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन भएपछि पशु पाल्ने ठूलो सङ्ख्यामा किसानले लाभ लिएका छन् । डुडुवा गाउँपालिकामा दश हजार घरधुरीमध्ये आठ हजार सात ८६ घरधुरीले पशुपालन गरिरहेका छन् । कृषकले पालेका पशुलाई पालिकाले नौ जना प्राविधिक खटाएर घरमै सेवा दिइरहेको पशु शाखाका प्रमुख अशोककुमार पाण्डेले जानकारी दिए ।


पालिकाले घरघरमा पशु स्वास्थ्य कार्ड वितरण गरेको छ । कार्डमा जनचेतनामूलक सन्देशका साथै दुई वटा मोबाइल नम्बर लेखिएको छ । ९८४४८५१०६९ र ९८५८०४६०४७ नम्बरको मोबाइलमा किसानले फोन गरेर आफ्ना समस्या राख्न सक्छन् । आफ्ना पशु बिरामी भएको खबर गर्न सक्छन् । यसमा रहेको पहिलो नम्बर पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको हो ।

उनले स्वयम् कुनै पनि नागरिक तथा किसान सेवाबाट बञ्चित नहोस् र आफूले पनि सेवाको अनुभुतिका लागि पनि आफ्नो सम्पर्क नम्बर राखेका छन् । उनले सेवाको गुणस्तरीयताका लागि आफ्नो नम्बर राखेका हुन् । अध्यक्ष चौधरीलाई किसानले पशु बिरामीसँगै आफ्ना अन्य समस्या पनि राख्ने गर्दछन् ।

यो नम्बरमा फोन आउने बित्तिकै पालिकाबाट पशु प्राविधिक किसानको घरमै पुग्छन् र पशुको उपचार गर्छन् । पालिकाले फोन उठाउनका लागि शंकर यादवलाई खटाएको छ । यादवको काम नै किसानको फोन उठाउने र प्राविधिकलाई खबर गर्ने रहेको छ । यादवलाई किसानको फोन उठाउने र पशु प्राविधिकलाई खबर गर्न भ्याइनभ्याइ नै हुन्छ । दिनमा सय कल बढी फोन आउने पशु शाखा प्रमुख पाण्डेले बताए । उनले भने, ‘किसानको फोनलाई पछ्याएर पशु प्राविधिकहरू उनको घरमा पुग्छन् ।’

डुडुवामा करिब २६ हजार बढी गाई/भैँसी र आठ हजार बढी बाख्रा पालिएका छन् । माथिल्लो भेगमा बाख्रा र तल्लो भेगमा भैँसी पाल्ने कृषक बढी छन् । नेपालगञ्जमा आउने दूध धेरैजसो डुडुवाका किसानकै हुने गर्दछ । पशु शाखाका अनुसार डुडुवाका किसानले छ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । 

पालिकाले आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम सञ्चालन गरेको छ । छ/छ महिना प्राविधिकहरू घरमै गएर जुका र जुम्राको औषधि दिने गर्छन् । छ हजार चार सय ९७ घरधुरीमा पुगेर यो वर्ष औषधि दिइएको छ । पालिकाले सञ्चालन गरेको ल्याबमा गोबर परीक्षण हुन्छ । पशुमा जुका देखिएमा नियमित औषधि दिने गरिन्छ । कुनै किसानको पशु बिरामी भयो भने पशु प्राविधिक किसानको घरमा गइरहन्छन् । 

पालिकाले किसानको पशुको बिमामा जोड दिएको छ । पशु बिमाप्रति किसानको ध्यान गइसकेको छैन । किसान रामसुहावनले ६० वटा भैँसीको बिमा गराएका छन् । बिमा गराउने किसानलाई पालिकाले अनुदान दिने गरेको छ । पालिकाले आफैँले बिमा गरिदिने नीति अघि सारेको छ । 

पालिकाले सुरु गरेको नश्ल सुधार कार्यक्रममार्फत कृत्रिम गर्भाधान गरेर उन्नत जातको पाडी र बाछी जन्माइन्छ । पालिकाले तीन सय ८८ वटा भैँसी र गाईको कृत्रिम गर्भाधान गरेको छ । कृत्रिम गर्भाधान गर्दा उन्नत जातको पाडी र बाछी जन्मिने र त्यसले बढी दूध दिने विश्वास गरिन्छ । स्थानीय जातका गाईमा जर्सी र भैँसीमा मुर्रा जातको राँगाबाट गर्भाधान गरिन्छ । कृत्रिम गर्भाधान गरिएको आमालेभन्दा पाडी र बाछीले बढी दूध दिने पशु प्राविधिक हिक्मतबहादुर खत्री बताउँछन् ।

पालिकाले बाख्रामा पनि कृत्रिम गर्भाधान गराउने नीति अघि सारेको छ । स्थानीय जातको बाख्रामा उन्नत जातको बोकाबाट कृत्रिम गर्भाधान गराउँदा राम्रो पाठापाठी जन्मिने गर्दछ । राम्रो र ठूलो साइजका पाठापाठी जन्मिएपछि किसानलाई बेच्दा फाइदा हुन्छ । आगामी वर्षदेखि केही किसानलाई समेटेर बिउका लागि उन्नत जातका बोका वितरण गर्ने रणनीति बनाइएको पालिकाले जनाएको छ । किसानले आफ्ना बाख्रामा कृत्रिम गर्भाधान पनि गर्न सक्छन् । 

गाउँपालिकाले हरेक वर्ष पशु विकास कार्यक्रमका लागि ठूलो बजेट छुट्याउने गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि रु एक करोड ४१ लाख बजेट विनियोजन गरेको थियो भने यो वर्ष गाउँसभा अहिलेसम्म नहुँदा नयाँ बजेट विनियोजन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । निर्वाहमुखी नभएर किसानलाई व्यवसायिकरण गर्दै लैजाने नीति अघि सारिएको उहाँको भनाइ छ । चरिचरन, घाँसको सुविधा रहेकाले डुडुवाका किसानलाई पशुपालन सहज भएको छ ।