अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मोरङमा



मोरङ । जिल्लाको सुन्दरहरैँचामा विराट खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। विराट चेस क्लब सुन्दरहरैँचाको आयोजनामा मङ्गलबारदेखि उक्त प्रतियोगिता सुरू भएको हो।

प्रतियोगितामा नेपालसहित भारत र बङ्गलादेशका गरी एक सय २० खेलाडी सहभागी छन्। प्रतियोगिताका विजेतालाई रु चार लाख ६० हजार राशि पुरस्कारस्वरुप प्रदान गरिने छ। प्रतियोगिताको एक समारोहबीच सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गरे। उनले प्रतियोगिातको माध्यमबाट यस क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उल्लेख गरे।


प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु एक लाख नगदसहित ट्रफी प्रदान गरिने छ। यस्तै दोस्रो हुनेले रु ७० हजार, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु ३० हजारसहित ट्रफी प्राप्त गर्ने छन्। खेल अवधिभरि विभिन्न विधामा २० जनालाई पुरस्कार प्रदान गरिने खेल संयोजक लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगिता आगामी असोज ८ गतेसम्म सञ्चालन हुने छ।