अमेरिकी राष्ट्रपति बाइडेनको कोरोना रिपोर्ट ‘नेगेटिभ’



अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनी कोभिड सङ्क्रमण भएर आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य परीक्षणमा शनिबार कोभिड रिपोर्ट नेगेटिभ आएको उनका चिकित्सकले जानकारी दिएका छन् ।

ह्वाइट हाउसका फिजिसियन केभिन ओ कनरले सो कुराको जानकारी दिएका हुन् । उनले राष्ट्रपति बाइडेन अहिले पनि आइसोलेसनमा रहेको तर उनलाई धेरै ठिक भएको उनका चिकित्सक ओ कनरले जानकारी दिए । उनले खोपको पूर्ण मात्रा लिनुका साथै दुई पटकसम्म बुस्टर डोज पनि लगाएका छन् ।


उनलाई पहिलो पटक गत जुलाई २१ मा कोभिड सङ्क्रमण देखिएको थियो । त्यसपछि एक हप्तासम्म आइसोलेसनमा रहनुभएका बाइडेनलाई निको भएको थियो । राष्ट्रपति बाइडेनलाई पुनः जुलाई ३० मा कोभिड सङ्क्रमण देखिएको हो । शनिबार गराएको स्वास्थ्य परीक्षणमा उनको कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।