अमेरिकाद्वारा चीनको सैन्य अभ्यासको आलोचना



चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ । ताइवानले चिनियाँ सैन्य अभ्यासको यथोचित प्रतिक्रिया दिइएको जनाएको छ।

बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो । ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान यथास्थिति फेर्न प्रयास गरिरहेको छ । अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ ।


चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ । चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए । तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो । ताइवानी सेनाले चीनले ताइवानमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ ।

आइतबार बिहान विमान र पानीजहाज परिचालन गरेर वास्तविक शस्त्रास्त्र गरिएका अभ्यासहरूको यथोचित प्रतिक्रिया दिइएको ताइवानको सेनाले भनेको विवरण रोयटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ । यद्यपि उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन्।