पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने ओलीको दृढता



दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको मियोका रूपमा स्थापित गर्ने बताएका छन् ।

बिहीबार पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकामा पार्टीले हार्नुको कारण के हो भनेर कार्यकर्तालाई प्रश्न गरे ।


यस पटक दमकमा विरोधीलाई फाइदा पुग्ने काम भएको चर्चा गर्दै अध्यक्ष ओलीले अर्कालाई जिताएर आफैं अपमानित हुने र लज्जित हुने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए । ‘हामीले व्यक्ति उठाउने होइन, पार्टी उठाउने हो’ उनले भने, ‘पार्टीले व्यक्तिलाई निर्देशित गर्ने हो नेतृत्व गर्ने हो ।’

सबैले पार्टीको सिद्धान्त र नीति बुझ्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । उनले आफू पार्टीलाई एकढिक्का बनाउने अभियानमा लागिरहेको बताउँदै आगामी दिनमा गल्ती नदोर्याउन र पार्टीले जित्ने गरी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष ओलीले २०६४ सालको निर्वाचनको दृष्टान्त दमकका नेता कार्यकर्तालाई स्मरण गराए ।

त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको भनाइ थियो । त्योे प्रवृत्ति स्थानीय निर्वाचनमा देखिएको र बेठीक भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘गल्ती कहिले कहिले हुन्छ तर पटक पटक दोहोरिनु हुँदैन । अबदेखि त्यस्तो गल्ती नदोहोरियोस् भन्न चाहन्छु ।’