आगामी चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने काँग्रेसको निर्णय, बहुमत ल्याउने लक्ष्य



काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन परिणामप्रति सन्तोष रहेको भन्दै आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता डा.प्रकाशशरण महतले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए ।


उनले भने, आगामी ‘आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै सत्ता गठबन्धनमा रहेका दलहरुसँग थप संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएको छ ।’

गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वय, आर्थिक समाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्युनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आम निर्वाचनमा पार्टी प्रस्तुत हुनुपर्ने ठहर बैठकले गरेको छ ।

बैठकको निर्णयमा भनिएको छ,’तालमेल गरिरहँदा नेपाली कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने निर्णय यो बैठक गर्दछ।’

त्यस्तै बैठकले आगामी साउन मसान्तभित्र भ्रातृ संस्थाको पूर्णता दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (९) (क) बमोजिम पार्टी सभापति शेरबहादुर देउवाद्वारा तोकिएका महामन्त्री गगनकुमार थापा संयोजक रहेको ’सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ गठन गर्ने निर्णय गरेको छ ।

यस्तै पार्टी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा ’केन्द्रीय अनुशासन समिति’ गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे संयोजकत्वमा ’केन्द्रीय लेखा समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ।