थप दुई न्यायाधीश बर्खास्त गर्न न्याय परिषदको सिफारिस



काठमाडौँ । न्याय परिषद्ले थप दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिश गरेको छ । सोमबार बसेको न्याय परिषदको बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

दुवैजना न्यायाधीशको खराब आचरण र कार्यक्षमता अभावका कारण पदमुक्त गर्नका लागि सर्वोच्च अदालतमा लेखी पठाउने निर्णय गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । निधि उच्च अदालत राजविराज इजलासमा हुँदा र शर्मा सिरहा जिल्ला अदालतमा हुँदा गरेका फैसलाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उक्त निर्णय गरिएको कार्कीले बताए ।


परिषदले गत शुक्रबारमात्रै उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दियाका जिल्ला न्यायाधीश लोकजंग शाहलाई पनि बर्खास्त गर्न सिफारिस गरेको थियो । त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई एक पटकका लागि सचेत गराउने निर्णय गरेको थियो । अन्सारी र शाहमाथि कार्यक्षमताको अभाव र खराब आचरणको आरोपमा कारवाही भएको हो ।