धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे भन्ने स्थानमा नेपाली नागरिक लुटपाट गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० वर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीहरूलाई गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरेको हो ।
प्रनाउ जोशीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट डडेलधुराको आलितालतर्फ जाँदै गरेको वेदकोट नगरपालिका–३ बस्ने आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत लोकेन्द्रसिंह भण्डारीले चलाइरहेको प्रदेश ०३–०१–०२३ च ८७२१ नंको सिल्भर रङ्गको सुजुकी कारलाई भीमदत्तबाटै सोही कारमा खानिडाँडासम्मका लागि लिफ्ट मागी सवार तीनजना भारतीयले निज भण्डारीलाई कुटपिट गरी लुटपाट गरेका थिए ।
निज भण्डारीलाई फोटो खिच्ने बहानामा सडकदेखि ५० मिटर तल लगी कुटपिट गरी आफूले प्रयोग गरेको गम्छा (कपडा) ले हातखुट्टा र मुख बाँधी निजका साथमा रहेको एक थान मोबाइल, एक थान पर्स र कारसमेत लगी भारतीय नागरिक फरार भएको बताइएको छ ।