शोधनान्तर घाटाको स्थिति आउनुमा ओली सरकार जिम्मेवार : अध्यक्ष



काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ति सरकार जिम्मेवार रहेको बताएका छन् ।

सोमबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेपालमा समाजवादः चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भएको आरोप लगाएका हुन् ।


नेकपा(एमाले)का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्दै बुर्जुवासँग मिलेर समाजवादको कुरा गरेको भन्न नमिल्ने बताए ।

उनले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरुले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताए । उनले भने, ‘हाम्रो अगाडी उहाँले जोशोधनान्तर घाटाको कुरा गर्नुभयो । त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो । समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ? वामपन्थीहरुको एकता, कम्युनिष्टहरुको एकताबाट स्थायित्व र समाजवादतिर जाला, भ्रष्टाचार नियन्त्रण होला । जनतालाई प्रत्यक्ष राहत हामीले घोषणापत्रमा जे भनेका थियौँ त्यतैतिर जाला भनेर त्यो पहल गर्ने हाम्रो अगाडि, अझ मेरो अगाडी भन्छु म चाहीँ । त्यो पहलकर्ताको अगाडी बसेर उहाँले समाजवादको कुरा बुर्जुवासँग मिलेर हुन्छ ? भन्न मिल्छ ?’

अध्यक्ष प्रचण्डले विगतमा नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको कुरा हेक्का राख्न आग्रह गरे । उनले एमसीसीलाई व्याख्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफूहरुले नेतृत्वदायी भुमिका खेलेको बताए ।

उनले भने, ‘झलनाथजीलाई म के सम्झाउन चाहान्छु भने एमसीसी बारे दस्तावेजिकरण गर्ने, पहिलो दस्तावेज लेख्ने मैले लेखेको हो । एमसीसी बारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्तावपनि मैले नै राखेको हो । झलनाथजीलाई यो हेक्का होला । यो हेक्का रहोस् । यो हेक्का रहनु जरुरी छ । एसपीपीलाई खारेज गराउनेमा नेतृत्वको भुमिका हामिले नै खेलेको हो । यो सत्यलाई कसैले इन्कार गर्न सक्दैन । इन्कार गर्न हुँदैन पनि ।’

उनले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संष्लेषण गर्न सक्षम हुने बताए । उनले कम्युनिष्टहरु बिग्रिएमा बिग्रिएको अण्डाजस्तै हुने टिप्पणी गरे ।