विशेष अदालतमा अत्यावश्यकबाहेक सबै सेवा स्थगित



काठमाडौँ । विशेष अदालतले कोरोना सङ्क्रमण जोखिम बढेका कारण माघ ६ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको छ । बुधबार एक सूचना जारी गर्दै विशेष अदालतले कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने जनाएको हो ।

‘यस अदालतमा कार्यरत केही कर्मचारी एवं नियमित बहस पैरवीमा उपस्थित हुने केही सरकारी वकिल र कानुन व्यवसायीसमेत सङ्क्रमित हुनुभएका र अन्यसमेत सङ्क्रमितको सम्पर्कमा रहन पुगेको परिस्थितिमा नियमित कार्यसञ्चालन गर्दा थप सरोकारवालामा समेत प्रत्यक्ष जोखिम हुन सक्ने परिस्थितिको मूल्याङ्कन गरेर आवश्यक सावधानी अपनाउनु पर्ने भएकोले यो सूचना प्रकाशन गरिएको व्यहोरा अनुरोध छ’, अदालतको सूचनामा लेखिएको छ ।


यसअवधिमा थुनुवा भएका मुद्दाको सुनुवाइ (भर्चुअल माध्यमबाट), आरोपपत्र–अभियोगपत्र दर्ता, आरोप–पत्र, अभियोग–पत्रसाथ उपस्थित गराइएका अभियुक्त थुनछेक र म्याद थप (भर्चुअल माध्यमबाट) सुचारु रहने अदालतले जनाएको छ ।

यसैगरी, सो अवधिभर थुनुवा भएका मुद्दा बाहेकका अन्य मुद्दाको साप्ताहिक तथा दैनिक पेशी र सो को सुनुवाइ, पेशी एवं साधारण तारिख, साक्षीको बकपत्र, हाजिर हुन आउने एवं बारेस अनुमतिलगायत निवेदन पेशी, धरौटी फिर्ता र रोक्का फुकुवा सम्बन्धी सेवा र फैसला–आदेश–कागजातको प्रमाणित प्रतिलिपीसम्बन्धी सेवा स्थगन गरिएको छ ।