उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा



२४ असाेज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।  आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। 

बाँके कांग्रेसका पूर्वसभापति रहेका हमाललाई देउवाले मन्त्री बनाएका थिए। उनी सांसद पनि छैनन्। उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। मन्त्री चयनमा प्रधानन्यायाधीशलाई पनि भाग दिएको भन्दै अहिले चर्को आलोचना भइरहेको छ।


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले राजीनामा बुझाएको छु । मैले मेरो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ?  साथीहरु राजीनामा नगर्ने भनेका थिए । म राजीनामा दिने पक्षमा गएँ । मैले राजीनामाको जानकारी दिइसकेको छु । आज गएर राजीनामा बुझाउँछु ।’

प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा स्वीकृत गराउन माध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको उनको भनाइ छ । 

उनले भने, ‘कसलाई नभनी राजीनामा दिए शेरबहादुर देउवाले राजीनामा स्वीकृत गर्नुहुन्न । मैले पत्रपत्रिकामा भनेपछि उहाँलाई स्वीकृत गर्न बाध्यता हुन्छ ।’