प्रदेश १ मा १७५ जना जनप्रतिनिधिले गरे एकीकृत समाजवादीकाे पक्षमा सनाखत



प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका १७५ जना निर्वाचित जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले मंगलबारसम्मको समय दिएकोमा १० प्रदेशसभा सदस्य, २ जिल्ला समन्वय समितिका प्रमुखसहित १७३ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् । संघीय सांसदका २ जनाले भने पार्टी विभाजनकै बखतमा सनाखत गरेका थिए ।

नेकपा एमालेबाट निर्वाचित खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र संखुवासभा जिल्ला समन्वय समिति (जिसस) प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।


ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटाका उपपमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले एकीकृत समाजवादी रोजेका हुन्।

स्थानीय तहमा राम्रो उपस्थिति रहेको नेकपा एमालेका अधिकांश जनप्रतिनिधिहरू बिभाजनको पक्षमा लागेनन्। २ नरपालिकाका प्रमुख र २ उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोजेका छन्।

यस्तै, ३ गाउँपालिका अध्यक्ष र ३ उपाध्यक्ष एमाले छाडेर समाजवादीमा लागेका छन् । प्रदेश १ का विभिन्न स्थानीयतका ३४ जना वडाध्यक्ष एमाले छोडेर विभाजनको पक्षमा लागेका छन्। ताप्लेजुङबाट ५ जना वडाध्यक्षहरूसहित २१ जना एमाले जनप्रतिनिधिले पार्टी छोडेका हुन्।

पाँचथरमा २ वडाध्यक्षसहित ११ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन्। इलामको सूर्योदय नगरपालिकाका प्रमुखुसहित ९ जना वडाध्यक्ष र माइजोगमाई गाउँपालिका अध्यक्ष र एक जना वडाध्यक्षसहित इलामका ५८ जना जनप्रतिनिधिले नयाँ दल रोजेका छन्।

तेह्रथुममा एक पालिका अध्यक्ष, एक वडाध्यक्षले एमाले छोडेर समाजवादीमा सनाखतन गरेका छन्। धनकुटामा जिसस उप्रमुखसहित ८ जनाले एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरे। सनाखत गर्नेमा ३ वडाध्यक्ष र ४ जना वडा सदस्य छन्।

भोजपुरबाट एक उपप्रमुखसहित ६ जना नयाँ पार्टीमा लागेका छन्। खोटाङ जिल्लामा जिसस प्रमुखसहित ११ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सनाखत गर्नेमा एक वडाध्यक्ष र ७ जना वडा सदस्यहरू छन्।

ओखलढुंगामा एक जना कार्यपालिका सदस्यले मात्र एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् भने सोलुमा नेकपा एकीकृत समाजवादी निर्वाचित जनप्रतिनिधिविहीन बनेको छ। सोलुबाट कसैले पनि नयाँ पार्टी नरोजेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नम्रता चुडालले जानकारी दिइन्।

उदयरपुरमा त्रियुगा नगरपालिकाका प्रमुख र उदयपुर गाउँपालिकाका अध्यक्षसहित ५ जना वडाध्यक्ष र २१ जना सदस्यले एमाले छोडेर नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन्। झापा, मोरङ र सुनसरीमा नेकपा एमालेको विभाजनको प्रभाव न्यून देखिएको छ। यी जिल्लाहरूमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू नगन्य संख्यामा मात्र नेकपा एकीकृत समाजवादीमा लागेका छन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एक जिल्ला समन्वय समिति सदस्य पदम लिम्बू र एक वडाध्यक्षसहति ७ जनाले मात्र नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेका छन्। यता मोरङमा पनि ४ जना वडाध्यक्ष र ४ जना वडासदस्यसहित ८ जनाले विभाजनको पक्षमा सनाखत गरेका छन्।

उता सुनसरीको इटहरी गाउँपालिकाका कार्यपालिका सदस्य र स्थानीय तहका ५ जना वडा सदस्यसहित ६ जनाले मात्र एकीकृत समाजवादी पार्टी रोजेका छन्। प्रदेशबाट ५ जना जिल्ला समन्वय समिति सदस्यहरुले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गरेका छन्।