ग्रामीण क्षेत्रमा अनलाइन कक्षा चलाउन चुनौती



सर्लाही । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पढाइ हुन नसकेका बेला ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्यालय तहको सिकाइ निरन्तरतामा चुनौती देखिएको छ । प्राविधिको पहुँच भएका विद्यालयले अनलाइन विधिबाट पठनपाठन गराएका भए पनि ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरु प्रविधिको पहुँचमा पुग्न सकेका छैनन् ।

सर्लाहीको बरथवा नगरपालिकाले शिक्षा सुधार योजना बनाएर नगरभित्रका विद्यालयमा लागु गरेको छ । बरथवा नगरपालिका–५ को चक्र जनता शहिद गंगा माविमा भने प्रविधिको पहुँच पुगेको छ । नगरपालिकाले वैकल्पिक प्रविधिको प्रयोग गर्दै सिकाईलाई निरन्तरता प्रदान गर्न आग्रह गरेको छ भने विद्यार्थी पनि अनलाइन विधिबाट गरिएको पठनपाठनमा सहभागी भएका छन् ।


विद्यार्थीले आफूले नजानेका कुरा सम्बन्धित विषयगत शिक्षकलाई भर्चुअल तथा फोन र एसएमएस विधिबाट सिकिरहेको बताएका छन् । टोलटोलमा रहेका विद्यार्थीको समूह बनाएर शिक्षकसँग सम्पर्क स्थापित गरिएको छ । सिकाइलाई निरन्तरता दिन स्थानीय सरकार, सिकाइ निरन्तरता अभियान, नेपाल शिक्षक महासंघ, विद्यालय व्यावस्थापन समिति महासंघ र युनिसेफको विशेष पहल पनि भइरहेको छ ।

टोल टोलमा बनाइएका अभिभावक समूहले आफ्ना नानीबाबुहरु पढे–नपढेको सम्बन्धित विषयगत शिक्षकलाई जानकारी गराउने गरेका छन् । नगरपालिकाले थालेको सिकाइ निरन्तरता अभियान थप प्रभावकारी भएको बरथवा नगरपालिकाका नगरप्रमुख देवानन्द महतोले बताएका छन्। उनका अनुसार सबै विद्यार्थीसँग स्मार्ट मोबाइल नहुँदा केही समस्या भएपनि शिक्षकहरु टोलटोलमा गए अनुगमन गर्दै आउका छन् ।