कोशी राजमार्ग, माम्लिङ–पिलुवा खोला सडक अवरुद्ध



२२ असार । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको माम्लिङ–पिलुवा खोला सडकमा ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ । सोमबार धर्मदेवी नगरपालिकाको छुमाङ भिरबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

एक साता लामो झरीपछि गएको पहिराले सडकमा ठूल्ठूला ढुङ्गासहितको माटो खसेको डिभिजन प्रमुख गौतमकुमार श्रेष्ठले बताए । उक्त सडकखण्डमा यातायातका साधन एकतर्फी खुलाउने प्रयास भइरहेको छ । श्रेष्ठका अनुसार ढुङ्गा खसेको सडकभन्दा केही तल बाक्लो गाउँ भएकाले हटाउन समस्या भइरहेको छ । पहिरो हटाउन प्रहरी र सशस्त्र प्रहरी खटाइएका छन् ।