हिब्रु भाषा जस्तै जाग्ला त संस्कृत भाषा ?



काठमाडौँ । कर्मकाण्ड पेशा अपनाउनेहरुमै सीमित रहन थालेको संस्कृत भाषा प्रति विस्तारै सर्वसाधरणको रुचि बढ्न थालेको छ । विगत दुई वर्षदेखि प्राचीन भाषा संस्कृत प्रशिक्षण लिनेको संख्याया बढ्न थालेको छ । यस क्षेत्रका विज्ञहरुले बताएका छन् ।

जयतु संस्कृतम् संस्थाले हीरक जयन्तीका अवसरमा आसर १ गतेदेखि सातै प्रदेशमा जुम प्रविधिबाट आयोजना गरेको प्रशिक्षणमा सोचेभन्दा बढीको सहभागिता रहेको छ । जुम प्रशिक्षणमा हरेक प्रदेशमा ५ सय जनालार्य सहभागी गराउने लक्ष राखिएको थियो । तर लक्ष राखिए भन्दा धेरैले आवेदन दिए । फेसबुक लाइभबाटसमेत हज्जारौले संस्कृत सिक्ने इच्छा देखाएको जयन्तु संस्कृतमका महासचिव नवराज कट्टेलले बताउनु भयो ।
६ वटा प्रदेशमा जुम प्रविधिबाट प्रशिक्षण सम्पन्न गरी जयतु संस्कृतम् दिवसका अवसरमा असार १ गतेदेखि वाग्मती प्रदेशमा अन्तिम प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणका प्रमुख प्रशिक्षक महेश संस्कृत गुरुकुल देवघाटका प्राचार्य डा गुरुप्रसाद सुवेदी संस्कृत सिक्ने चाहना बढ्दै गएको पाइएको बताउनु भयो । जुमबाट संस्कृत सिक्न चाहनेले शिक्षण सिकाइप्रति देखाएको अभिरुचि उत्साहजनक रहेको उहाँले बताउनुभयो । गत वर्ष कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएपछि देखि नै संस्कृत भाषा सिक्ने र संस्कृतमा लेखिएका ग्रन्थ पढ्न चाहनेको संख्या बढेको थियो ।
जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले घरघर र गाउँगाउँमा संस्कृत भाषा लैजाने योजनाअनुसार प्रशिक्षण सातै प्रदेशमा शुरु गरिएको बताउनु भयो । हिब्र भाषा लोप हुन लागेकामा इजरायलीले त्यसको पुनरुत्थान गरेर राष्ट्रिय भाषाका रूपमा स्थापित गरेजस्तै संस्कृतलाई अघि बढाउन लागिएको उहाँले बताउनुभयो ।
संस्थागत रूपमा शुरु गरिएका प्रशिक्षणमा मात्र होइन संस्कृत भाषा अध्ययन अध्यापन हुने नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विद्यापीठमा पनि संस्कृत भाषा सिक्न चाहने प्रशिक्षार्थीको संख्या बढेको छ । वाल्मीकि विद्यापीठका प्राचार्य प्रा डा भागवत ढकालका अनुसार विद्यापीठको संस्कृत भाषा प्रशिक्षणमा ४०० जनाले प्रशिक्षण लिइरहेको छन् ।संस्कृत बाहेकका विषयमा माध्यमिक तह (दश जोड दुई) उत्तीर्ण गरेकाले छ महिनाको भाषा प्रशिक्षण उत्तीर्ण गरेपछि संस्कृतमा स्नातक (शास्त्री) अध्ययन गर्न पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ ।
वाल्मीकि विद्यापीठको प्रशिक्षणमा पूर्वन्यायाधीश, पूर्वसचिवलगायतको रुचि बढ्न थालेको छ । प्रौढ र सेवा निवृत्तमा पनि संस्कृत भाषा सिकेर ऐतिहासिक, पौराणिक एवं ज्ञान विज्ञानका ग्रन्थ पढ्ने चाहना बढ्न थालेको छ । विगत दुई वर्षदेखि वाल्मीकि विद्यापीठमा संस्कृत भाषा प्रशिक्षण लिनेको सङ्ख्या बढेको विद्यापीठले जनाएको छ । भाषा प्रशिक्षणपछि प्रौढ उमेरका व्यक्तित्वले समेत शास्त्री अध्ययन गर्न थालेका छन् ।
अमेरिका र युरोपका देशमा संस्कृत भाषाप्रति आकर्षण बढ्न थालेपछि नेपालीहरुमा पनि यसप्रतिको रुचि बढ्न थालेको हो । अमेरिकी वैज्ञानिक संस्था नासाले समेत अन्तरिक्षमा सहीरूपमा उच्चारण बुझ्न सकिने भाषा संस्कृत भनी प्रमाणित गरेपछि यसप्रति विश्वमै आकर्षण बढ्न थालेको छ । संस्कृतलाई देवभाषाका रूपमा नेपाल, भारतलगायत दक्षिण एशियाका देशमा लिने गरिन्छ ।
विसं २०५८ सम्म कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा संस्कृत पढाइ हुन्थ्यो । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले संस्कृतका पुस्तक जलाउने, संस्कृतका शिक्षकमाथि आक्रमण एवं हत्या गर्ने धम्की दिएपछि पठनपाठन रोकिएको थियो । संस्कृत भाषाप्रति विश्वमै आकर्षण बढ्न थालेकाले नेपालमा फेरि अनिवार्य गरिनुपर्ने माग जयतु संस्कृतम लगायत संस्थाले गर्दै आएका छन् ।
करिव पाँच सय ऋषि मुनीहरुले संस्कृत भाषामा विभिन्न दर्शनका हज्जारौं पुस्तकहरु रचना गरेका छन् । एक जना ऋषिले गरेका रचना अहिलेका मानिसहरुले आफ्नो जीवनकाल भरी पनि अध्यायन गरेर सक्दैन् । यो अथाह ज्ञानको अधिकांश स्रोतको रचना नेपाली भुमिमा भएको कुरा प्रमाणित भइसकेको छ । उन्नतीको शिखरमा पुगेको भनिएको आजको विज्ञान समेत ऋषि मुनीहरुले लेखेका ग्रन्थहरुको एउटा छेउसम्म पुग्न सकेको छैन ।