सुडानमा सेना र अर्धसैनिक बलबीचको युद्धविरामको भएन पालना : विष्फोटका घटना जारी



सुडानमा सेना र अर्धसैनिक बलबीच ७२ घण्टे युद्धविराम भए पनि पालना भएको छैन । युद्धविरामकैबीच राजधानी खार्तुमसहित विभिन्न शहरमा लडाइँ तथा विष्फोटका घटना भएका छन् ।

अमेरिका र साउदी अरबको मध्यस्थतामा लडाइँ सुरु भएको दशौं दिन हिजो बिहानदेखि ७२ घण्टे युद्धविरामको सहमति भएको थियो । तर सुडानको सेना र र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीच लडाइँ भइरहेको समाचार संस्था एपीले जनाएको छ ।


वैशाख २ गतेदेखि दुई पक्षबीच सुरु भएको द्वन्द्वमा ४६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । युद्धमा ज्यान गुमाउनेको वास्तविक संख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । राष्ट्रसङ्घीय निकायले झण्डै दुई लाख सुडानी नागरिक सुरक्षाको खोजीमा छिमेकी देशमा पुगेका बताएको छ ।