सहकारी समस्यामा



दाङ । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन्। केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ।

पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशंका गर्न थालेका तुलसीपुर-६ स्थित राप्ती विश्वासी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर बुढाथोकीले बताए। उनका अनुसार सरकारीले सदस्यको बचतबाहेक पनि ६४ लाख ५७ हजार रुपैयाँ नाफा गरेको छ।


‘पछिल्लो समय सहकारीप्रति देखिएको समस्याले हाम्रा सहकारीमा पनि केही आशंका हुनु स्वभाविकै हो तर चलिरहेका राम्रा सहकारीमा कुनै समस्या छैन’, अध्यक्ष बुढाथोकीले भने। ठूला ऋणीहरूले पैसा तिर्नुपर्दैन भनेर हावा फैलाएको भन्दै त्यसको पछि नलाग्न उनले सबैमा अनुरोध गरे।

विसं २०५४ चैत ८ गते स्थापित उक्त सहकारीको बैंक मौजदात तीन करोड २४ लाख रुपैयाँ छ भने २१ करोड ६७ लाख रुपैयाँ ऋण लगानी भएको छ भने जम्मा २५ करोड ८५ लाख ७९ हजार रुपैयाँ छ।

सहकारीले आठ सय १० जनालाई ऋण लगानी गरेको सहकारीका उपाध्यक्ष रञ्जनकुमार गौतमले बताए। सहकारीमार्फत विभिन्न सात उद्देश्यमा ऋण प्रवाह गर्ने गरिएको उनको भनाइ छ।

सुरुमा ४१ जनाले सञ्चालन गरेको उक्त सहकारीमा हाल तीन हजार दुई सय ९८ शेयर सदस्य छन्। यसको दाङको तुलसीपुर उपमहानगरपालिकासहित दङ्गीशरण, बबई, शान्तिनगर लगायत कार्य क्षेत्र छ। बबईको हङ्सपुर र शान्तिनगरको रगैजामा सहकारीको सेवा केन्द्र छन्।