गठबन्धन ‘हाइज्याक’ भएपछि ‘करेक्शन’ गर्न प्रचण्डलाई विश्वासको मत : रामचन्द्र पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलेले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि कोर्ष करेक्सन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

मंगलबार संसद बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पौडेलले दुई वर्षअघि संविधान जोगाउनको बनेको पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्ष करेक्शन गर्न प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।


उनले काँग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताए । उनले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताए ।

उनले भने,‘गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्ने उद्देश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं । यसले देश र जनताको भलो गर्छ ।’