नेपालमा नयाँ समाजवादी ध्रुवीकरण आवश्यक : डा. बाबुराम भट्टराई (प्रतिवेदनको पूर्णपाठ)



काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ समाजवादी ध्रुवीकरण आवश्यक भएको औंल्याएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा उनले लिखित प्रतिवेदन पेस गर्दै देशमा राजनीतिक स्थायित्व, शान्ति, समृद्धिका लागि समुन्नत समाजवादमा आधारित एउटा सशक्त समाजवादी केन्द्रको आवश्यकता औँल्याएका हुन् ।

देशको राजनीतिमा दक्षिणपन्थी, यथास्थितिवादी शक्तिहरूको बोलवाला बढ्दै गएकाले अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतीहरू रहेको उनको विश्लेषण छ । ‘हामी एक्लैले ती चुनौतीहरू सामना गर्न सम्भव हुँदैन । त्यसका लागि हामी मुद्दा मिल्ने पक्ष, समूह, व्यक्ति र व्यक्तित्वहरूसँग सहकार्य गर्दै जानुपर्छ भने विचार र मुद्दा मिल्नेहरूसँग पार्टी एकीकरण गर्नुपर्छ,’ उनले भनेका छन् ।


उनले युवा पुस्ताको मनोविज्ञान नबुझे अर्को निर्वाचनसम्म विद्रोह आउन सक्ने चेतावनी दिएका छन् ।’पुराना र ठूला दलहरुको दम्भ, घमण्ड, अधिकांश नेताहरुको अक्षमता, नैतिकता र इमानदारितामा ह्रास देखेर युवा पुस्ताभित्र जसरी वितृष्णा बढ्दै गइरहेको छ, त्यो अर्को निर्वाचनसम्म विद्रोहमा रुपान्तरण नहोला भन्न सकिन्न । स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन नतिजाले त्यसैको सङ्केत गरेको छ‚’ भट्टराईले भनेका छन् ।

उनले हतारमा नयाँ शक्ति पार्टी निर्माण गर्दा अपेक्षित सफलता हासिल नगरेको र विभिन्न प्रक्रियामार्फत गुज्रँदै अहिलेको अवस्थामा आइपुगेको बताएका छन् ।

आज विश्वभर राजनीतिक रूपमा निजी स्वतन्त्रता र आर्थिक रूपमा बजार अर्थतन्त्रलाई प्रधानता दिने परम्परागत पुँजीवादी लोकतान्त्रिक पार्टीहरू राजनीतिमा समूहगत अधिकार-स्वतन्त्रता तथा अर्थतन्त्रमा राज्यको भूमिका स्वीकार गर्दै ‘समाजवाद’ तर्फ ढल्कँदै गएको पनि भट्टराईले उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘नयाँ समुन्नत समाजवादका यी मूलभूत मान्यताहरूको वरिपरि रहेर हामीले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्दछ । त्यसनिम्ति विभिन्न पार्टी, समूह र व्यक्तिहरूसँग योजनाबद्ध ढंगले सहकार्य, एकता र ध्रुवीकरणको पहल गर्नुपर्दछ,’ उनले भनेका छन् ।