विज्ञान अर्थात् सबैको विज्ञान



“विज्ञान” विज्ञानको कुनै देश, वर्ण वा भाषा हुँदैन | जोसुकैले “विज्ञान”को कुरा गरे पनि त्यो तुरुन्त सर्वभौम, सबैका लागि हुन्छ |

डा. गोविन्दशरण उपाध्याय । जब एउटा नेपाली विद्वानले “विज्ञान” शब्दको प्रयोग गर्छ यसको अर्थ हो – उसले आफ्ना प्रतिमान वा खोजहरूलाई पश्चिमाहरूबाट सम्मति प्राप्त गर्ने प्रयत्न गरिरहेको छ | नेपाली र भारतीयहरूको अन्तर्मनमा “विज्ञान र बैज्ञानिक चिन्तनहरू केवल पश्चिमा विद्वानहरूको पेवा” हो भन्ने मानसिक हीनताबोध वा पश्चिमाहरूले “विज्ञान पश्चिमाहरूको विशिष्ट खोज हो” भन्ने “सफ्ट पावर” फैलाएर पूर्वीय विद्वानहरूका वैज्ञानिक खोजहरूलाई हेपेका कारण उत्पन्न भएको हो |

“विज्ञान” विज्ञानको कुनै देश, वर्ण वा भाषा हुँदैन | जोसुकैले “विज्ञान”को कुरा गरे पनि त्यो तुरुन्त सर्वभौम, सबैका लागि हुन्छ | विज्ञानले देश, वर्ण, जातजातिका आधारमा काम गर्दैन | यदि कुनै प्राचीन संस्कृतको पुस्तकमा विज्ञान छ भने त्यो भारतवर्षबाट प्रकाशित भएको हुँदा “विज्ञानसम्मत” भन्ने रुढीबाट ग्रस्त हुनै सक्दैन | यदि कसैले “विज्ञान” प्रति एस्ता दुराग्रह राख्छ भने उक्त व्यक्ति वा समाजले विज्ञान र वैज्ञानिकताको महत्व बुझेको छैन भन्ने प्रष्ट हुन्छ |


महान् विद्वान चाणक्यले राजनीति विज्ञान, अश्विनी कुमारले आयुर्वेद, सरस्वती देवीले सङ्गीत विज्ञान, पतंजलिले योगविज्ञान, पाणिनीले व्याकरण विज्ञान, ब्रह्मर्षी वशिष्ठले आध्यात्मविज्ञान र अन्य असंख्य प्राचीन र आधुनिक विद्वानहरूले अन्य विधाका “प्रकल्प”हरू प्रकाशित गरेका छन् भने ती सबै पश्चिमाहरूले तोकेको मानदंड पूरा गरेमात्र “विज्ञान” भन्ने मूर्खतापूर्ण अबौद्धिक चिन्तनलाई चिर्ने पर्छ |विज्ञान परिवर्तनशील हुन्छ, असत्य हुँदैन |

प्रसिद्ध मनोवैज्ञानिक कार्ल जुंगले सन् १९२९ मा कलकत्ता कलेजमा भाषण गर्दै भनेका थिए “जव सम्म भारतीयहरूले आफ्ना अत्यन्त उन्नत चिन्तनहरूलाई पश्चिमाहरूको विश्वास जित्न वा उनीहरूबाट सहमति प्राप्त गर्न “विज्ञान” शब्दको प्रयोग गर्छन् तवसम्म आफ्नो खुट्टामा उठ्न सक्दैनन् |”

विज्ञानका लागि पूर्वपश्चिम, उत्तर -दक्षिण कसैको सम्मति चाहिन्न | यदि हाम्रा आफ्ना र प्राचीन ऋषिमुनिहरूका खोज भौतिक, मानसिक र आध्यात्मिक रूपमा उपयोगी छन् भने एकदिन विश्वले स्वीकार गर्नै पर्छ |बरु नेपाली विद्वानहरूले पश्चिमा प्रतिमानको “विज्ञान”को सम्मति खोज्ने मानसिकता छोडेर आत्मविश्वास र गौरवका साथ “विज्ञान”को उपासना सिक्नुपर्छ | पश्चिमाहरूले भनेको पत्याएर “आध्यात्मिकता”मा विज्ञान हुँदैन भन्ने पूर्वाग्रहबाट मुक्त हुनुपर्छ |