अमेरिकी राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनसँग भेट्न आफू तयार रहेको सङ्केत गरेपछि रुसले युक्रेनबाट आफूले कब्जा गरेका नयाँ क्षेत्रलाई मान्यता दिन पश्चिमले अस्वीकार गर्दा शान्ति वार्ता हुन कठिन भएको बताएको छ ।
क्रेम्लिनले आफू वार्ताका लागि खुला भएपनि युक्रेनबाट बाहिरिनुपर्ने पश्चिमा माग पूरा गरेर वार्तामा नबस्ने बताएको हो ।
रुसले गत सेप्टेम्बरको अन्त्यमा आफूले कब्जा गरेका चार युक्रेनी क्षेत्रलाई गैरकानुनी रूपमा आफ्नो देशको भू–भागका रूपमा विस्तार गरेको थियो । यद्यपि उसले युक्रेनमाथि आक्रमण गरेको नौ महिनामा कब्जा गरेका आधाभन्दा बढी भूमि गुमाएको छ ।
अमेरिकी राष्ट्रपति बाइडनले बिहीबार राति पत्रकारहरूसँग “यदि वास्तवमा उनी युद्ध अन्त्य गर्ने बाटो खोज्दै छन् भने, ‘आफू रुसी नेतालाई भेट्न तयार रहेको बताएका थिए ।
अमेरिका भ्रमणमा रहेका फ्रेन्च राष्ट्रपति एमानुएल माँक्रोले पनि ह्वाइट हाउसमा बाइडनसँगै उनको छेउमा उभिएर आफूहरूबीच युक्रेनीलाई’उनीहरूलाई स्वीकार्य नहुने’ सम्झौता गर्न कहिल्यै पनि आग्रह नगर्ने सहमति भएको स्पष्ट पारेका थिए ।
यद्यपि कूटनीतिक गतिविधिमा देखिएका स्पष्ट उथलपुथलले महिनौँपछि वार्ताका लागि केही उत्साहको सङ्केत भने गरेका छन् ।
रुसी सेना पूर्वाधारहरूमा व्यापक आक्रमण गरेपछि दक्षिणी युक्रेनबाट केही पछि हट्न बाध्य भएको छ । जर्मन चान्सलरले शुक्रबार सेप्टेम्बरपछि पहिलो पटक रुसी राष्ट्रपति पुटिनसँग कुराकानी गरेका छन् ।
एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा जर्मन नेताले आफ्ना समकक्षीलाई कूटनीतिक समाधान खोज्न आग्रह गरेको बर्लिनले जनाएको छ । क्रेम्लिनका अनुसार उक्त कुराकानीका लागि जर्मन पक्षले दबाव दिएको थियो र पुटिनले बर्लिनलाई ‘युक्रेनमा भइरहेका घटनाका सन्दर्भमा आफ्नो दृष्टिकोणमा पुनर्विचार गर्न’ आग्रह गरेका थिए ।
राष्ट्रपति पुटिनले जर्मनीलगायत पश्चिमी देशहरूको विनाशकारी जीवनबारे ध्यानाकर्षण गराएका थिए।