पोर्चुगललाई हराउँदै कोरिया नकआउट चरणमा



काठमाडौँ । दक्षिण कोरिया कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार समूह चरणको अन्तिम खेलमा उपाधि दाबेदार मानिएको पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरियाले नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण कोरिया समूह ’एच’ को उपविजेता बन्दै अघिल्लो चरणमा प्रवेश गरेको हो। उसले तीन खेलमा चार अंक जोड्यो ।

यसअघि कोरियाले समूह चरणको पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा घानाविरुद्ध ३–२ गोलको हार बेहोरेको थियो ।


आज एजुकेसन सिटी स्टेडियममा कोरियालाई जिताउन किम योङ अन र ह्वान ही–चनले एक–एक गोल गरे । पोर्चुगलका लागि रिकार्डो होर्तले एक गोल गरे । खेलको पाँचौं मिनेटमा रिकार्डो होर्तले गोल गरेपछि पोर्चुगलले अग्रता बनाएको थियो। उनले डालोटको पासमा गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा किम योङ अनले गोल गरेपछि कोरिया बराबरीमा फर्कियो । खेलको इन्ज्युरी समयमा ही–चनले गोल गरेपछि कोरियाले २–१ गोलको जित निकाल्यो । पोर्चुगल एक खेलअगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तीन खेलमा सात अंक जोडेको पोर्चुगल समूह विजेता बन्यो ।

आजै भएको अर्को खेलमा उरुग्वेले घानामाथि २–० गोलको जित निकाल्यो। तर ऊ विश्वकपको अन्तिम १६ मा पुग्न सकेन । तीन खेलमा चार अंक जोडे पनि गोलान्तरको आधारमा कोरियाभन्दा पछि परेपछि उरुग्वे बाहिरिएको हो ।

पोर्चुगलले आठौं पटक विश्वकप खेलिरहेको छ। उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् १९६६ मा तेस्रो भएको पोर्चुगलले त्यसयता उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन।