जाँदाजाँदै प्रेम आलेले भने- आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताएका छन् । आइतबार साँझ राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको दाबी गरे ।

उनले आफूले २ सय ६३ दिन मन्त्रालयमा बिताएको पत्तो नै नपाएको बताए । उनले मन्त्री रहँदाको करिब ९ महिने कार्यकालमा आफू ९० प्रतिशत सफल भएको दाबी गरे ।


‘म मन्त्रीको रुपमा ९ महिना अर्थात् २६३ दिन काम गरेँ। तपाइँ कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्नुभयो भने म आफूलाई ९० अंक दिन्छु। म आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु,’ उनले भने ।

उनले आफूले राम्रो काम गर्नेलाई स्यावासी दिएको र छलछाम गर्नेलाई कारबाही गरेको जानकारी दिए । उनले भने, ‘नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाई जहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार स्थानान्तरण लगायतको कारबाही गर्दा अदृष्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब र थुप्रै प्रलोभन पनि आए । तर म प्रलोभनमा परिनँ।’

त्यसैगरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनु आफ्नो उपलब्धि भएको आलेको भनाइ छ । उनले त्रिभुवन विमानस्थलमा निशुल्क बस सेवा सञ्चालन गरिनु पनि उपलब्धि भएको बताए ।