काठमाडौँ, २३ असार । बलिउड अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ज्ड भएका थिए।
बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारकाे वास्तविक नाम भने युसुफ खान हाे । उनले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
उनले ‘ज्वार भाटा’ (१९४४), ‘अंदाज’ (१९४९), ‘आन’ (१९५२), ‘देवदास’ (१९५५), ‘आजाद’ (१९५५), ‘मुगल-ए-आजम’ (१९६०), ‘गंगा जमुना’ (१९६१), ‘क्रान्ति’ (१९९१), ‘कर्मा’ (१९८६) और ‘सौदागर’ (१९९१) समेतगरी ५० भन्दा बढी बलिउड फिल्ममा अभिनय गरेका छन् ।
उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र नभइ उनी पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए।