१७ स्थानीय तहका ४४ मतदान केन्द्रको मतदान स्थगित



काठमाडौँ । स्थानीय तहको निर्वाचन अन्तर्गत विभिन्न १७ वटा स्थानीय तहका ४४ मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार राजनीतिक दलका बीचमा विवाद र वर्षाका कारण समेत गरी देशभरका १७ स्थानीय तहका २८ मतदान स्थलका ४४ वटा मतदान केन्द्रमा मतदान सम्पन्न हुन नसकेको हाे ।


‘कतिपय ठाउँमा अप्रिय घटनासमेत भए, आज हामीले सबै ठाउँमा एकैचरणमा मतदान सम्पन्न हुने अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘तर, दलहरूको बीचमा उत्पन्न विवादले उग्र रुप लिएको र वर्षाका कारण समेत गरी देशभर ४४ वटा स्थानीय तहमा मतदान सम्पन्न हुन सकेन ।’

उनले कतिपय ठाउँमा वर्षाका कारणले समेत सबै मतदाताले सहभागी हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै ती स्थानहरुमा मतदान अधिकृतले मतदान स्थगन गरेको जानकारी दिए ।

उनका अनुसार मतदानका लागि अर्को मिति भने तोकिएको छैन । ‘स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र त्यहाँको वस्तुस्थिति समेतको अध्ययन गरेर पुन: मतदानको मिति तोक्ने तयारीमा छौँ,’ उनले भने । उनले निर्वाचनको मतगणना सम्बन्धित स्थानीय तहमै हुने बताए ।

‘जहाँ मतदान नै हुन सकेको छैन, त्यस्तो ठाउँमा मतदान भएपछि मात्रै गणना हुन्छ,’ उनले भने, ‘त्यसबाहेक मतदान सम्पन्न भइसकेका ठाउँमा मतपेटिका संकलन भइसकेपछि राति देखि नै मतगणनाको तयारी छ । त्यो स्थानीय अवस्थाअनुसार गर्ने हो, कतिपय ठाउँमा बिहानमात्रै गणना थाल्ने भन्ने निर्णयसमेत भइसकेको छ ।’