धमाधम मतपेटिका सङ्कलन हुँदै, सम्भव भएसम्मका स्थानमा आजै मतगणना



काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ । ती क्षेत्रमा मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी छ ।

निर्वाचन आयोगले आजै मतगणना सुरु गर्न स्पष्ट निर्देशन दिइसकेकाले पनि प्रक्रिया पुगेका स्थानमा आजै मतगणना गरिने सम्बद्ध क्षेत्रका अधिकारीहरुले बताएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि मतदान सम्पन्न भई सुरक्षितरूपमा मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भएपछि सहरी क्षेत्रमा आजै रातिदेखि मतगणना कार्य सुरु हुने जानकारी दिएका छन् ।


आयोगका अनुसार करिब ६४ प्रतिशत मत खसेको अनुमान गरिएको छ । यो अपेक्षाभन्दा कम हो तर कतिपय क्षेत्रमा अहिले पनि मतदान जारी रहेको र कतिपय क्षेत्र दुर्गम भएकाले आजै मतगणना सुरु हुने सम्भावना क्षीण छ । शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट पनि धमाधम मतपेटिका सङ्कलन भइरहेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै मतगणना सुरु गरिने तयारी रहेको जानकारी दिए । उनका अनुसार मतपेटिका सङ्कलन कार्य जारी छ । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । विभिन्न जिल्लामा झडपका घटना भएका देखिएको थियो ।

आयोगका अनुसार जुम्ला, सप्तरी, काभ्रे, रौतहट, रामेछाप, बारा, बाजुरा, पर्वतलगायत जिल्लाका केही मतदानस्थलमा विवादका कारण मतदान कार्य रोकिएको छ । त्यस्ता क्षेत्रमा निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा आयोगलाई जानकारी दिएर पुनः मतदान गराउने निर्णय मुख्य निर्वाचन अधिकृतले गर्न सक्नेछन् । सोही अनुसार कतिपय जिल्लामा मतदानको अर्काे मितिसमेत तय भइरहेको छ ।

आज मतदानको दिन केही छिटफुट घटना भए । मतदाताले मतपेटिका नै लिएर भागेका दृश्य देखियो भने दलका कार्यकर्ताबीच झडप पनि भयो । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले ३० भन्दा बढी जिल्लामा ११० घटना भएको जानकारी दिए । कूल ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको र केही ठाउँमा अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो ।

प्रहरीलाई प्राप्त विवरणबारे जानकारी दिँदै केसीले ३४ स्थानमा मतदान स्थगित भएको बताउनुभयो । महानगरमध्ये सबैको चासोको विषय बनेको चितवनको भरतपुरमा राति १२ बजेपछि मतगणना सुरु गर्ने तयारी गरिएको सहायक प्रजिअ चिरञ्जीवी शर्माले जानकारी दिए । उनले केही पालिकाले भोलि गर्ने कुरा गरेको पनि बताए ।

“मतपेटिका आउने क्रम जारी छ, रुटमा परेका सबै मतदानस्थलबाट मतपेटिका सङ्कलन भइरहेकाले मतपेटिका सङ्कलनमा केही समय लाग्ने देखिएको छ”, शर्माले भने, “राप्ती नगरपालिकामा गाडी नै नजाने ठाउँहरु छन् र इच्छाकामना गाउँपालिकाका मतदानस्थल पनि दुर्गममा रहेकाले मतपेटिका ल्याउन समय लाग्ने देखिएको छ ।” पानी परेर बाटो बिग्रिएको भन्ने सूचना आएकाले गाउँको मतपेटिका आउन ढिला हुने उनले बताए । शर्माले चितवनमा ६८ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताए ।