काठमाडौं । नेकपा एमाले इलाम क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले इलामवासीको विश्वास र भरोसा मर्न नदिने बताएका छन् ।
मंगलबार इलाम–२ को उपनिर्वाचनपछिको चुनावी सभालाई सम्बोधन गर्दै नेम्बाङले इलामका जनताले सुवास नेम्बाङप्रति देखाएको भरोसालाई टुट्न नदिने बताए ।
अग्रजहरूको योगदानको आफूले सधैँ कदर गर्ने नेम्बाङले बताए ।अहिलेको समय युवाको भए पनि अग्रजहरूको सम्मान गर्दै उनीहरूको सल्लाह र आशीर्वाद लिएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।
अग्रजले देखाएको बाटो बिर्सन नहुने उनले स्पष्ट पारे । नेम्बाङले मतदाताको शिर नझुक्ने गरी काम गर्ने बाचा गरे । ‘इमान र निष्ठापूर्वक काम गर्ने छु भन्ने कुरा म यहीँबाट बाचा पनि गर्दछु’, उनले भने ।
नेम्बाङले कसैलाई गाली गरेर वा कसैको दुष्प्रचार गरेर होइन, काम गरेर देखाउनु पर्ने बताए । आफू त्यही हिसाबले अघि बढ्ने उनले बताए ।
अग्रजहरूले व्यवस्था परिवर्तन र संविधान लेखको काम पूरा गरेको बताउँदै नेम्बाङले अब नयाँ पुस्ता अवस्था परिवर्तनको काममा लाग्नु पर्नेमा जोड दिए ।
नेम्बाङले कुनै जात वा समुदाय विशेषको कुरा गर्नेभन्दा सारा नेपालीको हितमा काम गर्नुपर्नेमा जोड दिए । नेपाल इन्द्रेणीको रङ जस्तै भएकाले सबै रङको महत्त्व रहेको उनले स्पष्ट पारे ।